काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) को ब्राण्ड र प्रतिष्ठाको दुरुपयोग गर्दै नक्कली घिउ उत्पादन तथा विदेशमा बिक्री वितरण गर्ने गिरोह सक्रिय रहेको तथ्यले संस्थानको निर्यात प्रणाली र भन्सार जाँचमाथि गम्भीर प्रश्न उठाएको छ। करिब दुई वर्षअघि डिडिसीको नाम र ब्राण्ड प्रयोग गरी बिचौलियाहरूले जापान र दुबईसम्म नक्कली घिउ पुर्याएर बिक्री वितरण गरेको पाइएको छ।
डिडिसीको आधिकारिक उत्पादन नभए पनि संस्थानकै ब्राण्ड प्रयोग गरेर नक्कली घिउ विदेश पुर्याइएको घटनाले नेपालका भन्सार नाकाहरूबाट त्यस्ता सामग्री कसरी निर्यात भए भन्ने गम्भीर प्रश्न खडा गरेको छ। विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र वीरगञ्ज भन्सार हुँदै यस्ता उत्पादन बाहिरिएको आशंकाले भन्सारको जाँचपास प्रणालीमाथि समेत प्रश्न उठाएको छ।
प्राप्त विवरणअनुसार डिडिसीको ब्राण्ड प्रयोग गरी नक्कली घिउ विदेश पठाउने तथा बिक्री वितरणमा संलग्न कम्पनी र व्यक्तिहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निगरानीमा राखेको बताइएको छ। नक्कली उत्पादनको स्रोत, त्यसको आपूर्ति सञ्जाल र निर्यात प्रक्रियामा संलग्न व्यक्तिहरूबारे अनुसन्धानको आवश्यकता देखिएको छ।
अझ महत्वपूर्ण कुरा, डिडिसी स्वयंले पछिल्ला दुई वर्षमा जापान र दुबईमा आफ्नो संस्थागत माध्यमबाट घिउ निर्यात नगरेको जनाएको छ। यदि संस्थानले आधिकारिक रूपमा घिउ पठाएको थिएन भने ती देशका बजारमा डिडिसीको नाम र लेबल प्रयोग गरिएका घिउ कसरी पुगे ? कुन कम्पनीले उत्पादन तथा आपूर्ति गर्यो ? भन्सारबाट कसको कागजातका आधारमा ती सामग्री बाहिरिए ? यी प्रश्नको जवाफ अझै महत्वपूर्ण बनेको छ।
तर यस वर्ष भने डिडिसीले दुबईमा आधिकारिक विक्रेतामार्फत घिउ निर्यात गरेको जनाएको छ। संस्थानका अनुसार यसपटक करिब तीन टन घिउ दुबई पठाइएको हो। ३५० मिलिलिटर क्षमताका सिसाका बोतलमा प्याकेजिङ गरिएको उक्त घिउ डिडिसीकै आधिकारिक उत्पादन रहेको संस्थानको दाबी छ।
डिडिसीले यस वर्षदेखि दुबईका लागि आधिकारिक विक्रेता तोकेर सोही माध्यमबाट घिउ पठाउन थालेको जानकारी दिएको छ। यसले विगतमा बिचौलियामार्फत डिडिसीको ब्राण्ड दुरुपयोग गरी भएको भनिएको कारोबार र अहिले संस्थानको आधिकारिक माध्यमबाट भइरहेको निर्यातबीच स्पष्ट भिन्नता देखाएको छ।
यद्यपि, विगतमा जापान र दुबई पुगेको भनिएको नक्कली घिउको वास्तविक स्रोत, त्यसमा प्रयोग भएको डिडिसीको ब्राण्ड तथा लेबल, निर्यातका क्रममा पेस गरिएका कागजात र भन्सारबाट जाँचपास गराउने प्रक्रियाबारे निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ।
डिडिसीले निर्यात नगरेको अवधिमा उसको ब्राण्डमा घिउ विदेश कसरी पुग्यो ? भन्सारबाट कसले जाँचपास गर्यो र त्यसको लाभ कसले उठायो ? यो विषयको छानबिनले मात्र नक्कली घिउको कारोबारमा संलग्न सञ्जाल र सरकारी निकायको सम्भावित कमजोरी उजागर गर्न सक्छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्