लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

स्वास्थ्य उपकरण खरिदमा अर्बौंको सेटिङ ! मन्त्री मेहताको निशानामा विभागका दुई निर्देशक

इनसाइट

स्वास्थ्य उपकरण खरिदमा अर्बौंको सेटिङ ! मन्त्री मेहताको निशानामा विभागका दुई निर्देशक

१ अर्बको टेण्डरमा स्पेक लकको आरोप, सीआर–डीआर र अल्ट्रासाउन्ड मेसिन खरिदविरुद्ध उजुरी; प्रधानमन्त्री कार्यालयको समेत चासो

न्युज बिहानी
न्युज बिहानी
Shares
स्वास्थ्य उपकरण खरिदमा अर्बौंको सेटिङ ! मन्त्री मेहताको निशानामा विभागका दुई निर्देशक

काठमाडौं । स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि मौलाउँदै आएको स्वास्थ्य उपकरण तथा सामग्री खरिदको सेटिङमाथि सरकारको ध्यानाकर्षण हुन थालेको छ। तथ्यसहितका समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. कृष्णप्रसाद पौडेल र व्यवस्थापन महाशाखाका निर्देशक डा. वीरेन्द्र मण्डलको विकल्प खोज्नुपर्ने दबाबमा परेकी छन्। 

दुई वर्षअघिको आइरन चक्की खरिदमा भएको भनिएको अनियमितता र हालै सम्पन्न हुन लागेको करिब १ अर्ब रुपैयाँको स्वास्थ्य उपकरण खरिद प्रक्रियामा स्पेसिफिकेसन लक (स्पेक लक) गरिएको आरोप सार्वजनिक भएपछि विभागको नेतृत्वमाथि प्रश्न उठेको हो।

मन्त्रालय स्रोतका अनुसार यी दुवै प्रकरण सार्वजनिक भएपछि महानिर्देशक पौडेल र निर्देशक मण्डललाई जिम्मेवारीबाट हटाएर नयाँ नेतृत्व ल्याउने विषयमा मन्त्री मेहताले गृहकार्य थालेकी छन्। प्रधानमन्त्री कार्यालयले समेत खरिद प्रक्रियाबारे चासो राखेपछि मन्त्रालयमाथि दबाब थपिएको स्रोतको दाबी छ।

४० करोडको सीआर–डीआर मेसिनमा स्पेक लकको आरोप
व्यवस्थापन महाशाखाका निर्देशक डा. मण्डलको जिम्मेवारीमा रहेको पछिल्लो करिब १ अर्ब रुपैयाँको टेण्डर प्रक्रियामा गम्भीर प्रश्न उठेका छन्। करिब ४० करोड रुपैयाँ बराबरका सीआर र डीआर मेसिन खरिदमा निश्चित कम्पनीलाई मात्र अनुकूल हुने गरी स्पेसिफिकेसन तयार पारिएको भन्दै तीनवटा कम्पनीले स्वास्थ्य सेवा विभागमा उजुरी दिएका छन्।

त्यस्तै, करिब २० देखि २५ करोड रुपैयाँ बराबरका अल्ट्रासाउन्ड मेसिन खरिदमा पनि स्पेक लक गरिएको आरोपसहित उजुरी परेको छ। ल्याब उपकरण खरिद प्रक्रियामा समेत दुईवटा फर्मले उजुरी दर्ता गराएका छन्।एउटै खरिद प्रक्रियामा विभिन्न उपकरणका स्पेसिफिकेसनमाथि प्रश्न उठ्दै उजुरी पर्नुले विभागको खरिद प्रणाली र त्यसको नियमनमाथि गम्भीर शंका पैदा गरेको छ। प्रतिस्पर्धालाई सीमित गर्दै निश्चित आपूर्तिकर्तालाई लाभ पुग्ने गरी सर्त तयार गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

प्रधानमन्त्री कार्यालयको चासो, मन्त्री दबाबमा
स्वास्थ्य उपकरण खरिदमा उठेका प्रश्न र उजुरीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो राखेर जानकारी खोज्न थालेको स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालयबाटै खोजी हुन थालेपछि मन्त्री मेहता विभागका दुवै अधिकारीलाई जिम्मेवारीबाट सरुवा गरी नयाँ नेतृत्व ल्याउने विकल्पमा पुगेको मन्त्रालय स्रोत बताउँछ।तर अधिकारीको सरुवा मात्रै यो प्रकरणको समाधान होइन। खरिद प्रक्रियामा अनियमितता भएको हो भने त्यसमा संलग्न निर्णयकर्ता, प्राविधिक समूह, मूल्यांकन समिति र आपूर्तिकर्तासमेतको भूमिका छानबिन हुनुपर्ने माग उठेको छ।

पाँच सप्लायर्सको सिन्डिकेटमाथि छानबिन कहिले ?
स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि सीमित आपूर्तिकर्ताको प्रभावमा खरिद प्रक्रिया सञ्चालन हुने गरेको र पाँच सप्लायर्सका परिवार तथा आफन्तका नाममा रहेका कम्पनीहरूले स्पेसिफिकेसन लकमार्फत ठेक्कामा प्रभाव जमाउने गरेको आरोप स्रोतले लगाएको छ।

यस्ता कम्पनीहरूले प्रतिस्पर्धा सीमित गरी सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान तथा विभिन्न केन्द्रका लागि आवश्यक उपकरण खरिदमा एकाधिकार कायम गरेको आरोप छ। दातृ निकायको सहयोगमा सञ्चालन हुने अस्पताल स्तरोन्नतिका कार्यक्रमदेखि सरकारी बजेटबाट हुने खरिदसम्म निश्चित समूहको प्रभाव रहेको दाबी गरिएको छ।

एक करोड रुपैयाँ मूल्य पर्ने उपकरणका लागि पाँच करोड रुपैयाँसम्म भुक्तानी लिने गरी खरिदमा चलखेल हुने गरेको आरोपसमेत सार्वजनिक भएको छ। यदि यस्तो भएको हो भने यो सामान्य खरिद अनियमितता मात्रै नभई राज्यकोषमाथिको गम्भीर आर्थिक अपराधको विषय बन्न सक्छ।

स्वास्थ्य उपकरण आपूर्तिमा एकाधिकार जमाएर आर्जन गरिएको भनिएको सम्पत्तिबाट बबरमहल र शंखमूल क्षेत्रमा बुटिक होटल तथा आलिशान बंगला निर्माण गरिएको विषयमा समेत प्रश्न उठाइएको छ। यी आरोपको स्वतन्त्र अनुसन्धान र सम्पत्तिको स्रोत परीक्षण हुनुपर्ने माग स्रोतले गरेको छ।

सरुवा होइन, खरिद सेटिङको जरोसम्म अनुसन्धान आवश्यक
जेनजी आन्दोलनपछि सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको वालेन्द्र शाह नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमाथि पनि निर्मम छानबिन गर्नुपर्ने देखिन्छ।

विभागका निर्देशक सरुवा गरेर मात्रै वर्षौंदेखि चल्दै आएको भनिएको खरिदको जालो तोडिने छैन। आइरन चक्की खरिददेखि पछिल्लो एक अर्ब रुपैयाँको टेण्डरसम्मका निर्णय, स्पेसिफिकेसन निर्माण, लागत अनुमान, मूल्यांकन प्रक्रिया र भुक्तानीको शृंखलासम्म अनुसन्धान हुनुपर्छ।

कुन कम्पनीले कुन उपकरणको ठेक्का पायो ? स्पेसिफिकेसन कसले तयार गर्‍यो ? प्रतिस्पर्धा किन सीमित भयो ? बजार मूल्यभन्दा अस्वाभाविक रूपमा बढी मूल्यमा खरिद भएको हो कि होइन ? र यसबाट कसले कति लाभ लियो ? यी प्रश्नको जवाफ सरकारले दिनुपर्नेछ।

स्वास्थ्य सामग्री खरिदमा हुने अनियमितता अन्ततः सर्वसाधारणको उपचार सेवासँग जोडिएको विषय हो। त्यसैले मन्त्री मेहताले अधिकारी सरुवाको तयारीमा मात्र सीमित नभई स्वास्थ्य क्षेत्रको खरिदमा वर्षौंदेखि जरा गाडेको भनिएको सप्लायर्स सिन्डिकेट र सम्भावित मिलेमतोको निष्पक्ष छानबिन अघि बढाउनुपर्ने चुनौती छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup