लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सशस्त्रमा ‘चन्दा आतंक’ : देउसीपछि स्वास्थ्य शिविरबाट रकम उठाउने खेल !

इनसाइट

सशस्त्रमा ‘चन्दा आतंक’ : देउसीपछि स्वास्थ्य शिविरबाट रकम उठाउने खेल !

तर, सुरक्षा संगठनभित्र पद, कमान्ड र मातहतको सम्बन्ध प्रयोग गरेर रकम संकलन गरिएको हो भने त्यसलाई सामान्य सहयोगको संज्ञा दिएर उम्किन मिल्दैन।

न्युज बिहानी
न्युज बिहानी
Shares
सशस्त्रमा ‘चन्दा आतंक’ : देउसीपछि स्वास्थ्य शिविरबाट रकम उठाउने खेल !

काठमाडौं । मानवीय सेवा, सामाजिक उत्तरदायित्व र परोपकारको उद्देश्य बोकेको संस्थाको नाममा राज्यको सुरक्षा संगठनभित्रै आर्थिक संकलनको समानान्तर संयन्त्र चलाइएको हो ? सशस्त्र प्रहरी बलभित्र पछिल्लो समय उठेको यो प्रश्न सामान्य संस्थागत असन्तुष्टिमा सीमित छैन। तिहारको देउसी–भैलोदेखि निःशुल्क स्वास्थ्य शिविरसम्मका कार्यक्रमलाई रकम संकलनको माध्यम बनाइएको आरोप सार्वजनिक भएपछि संगठनको आर्थिक अनुशासन, पदको दुरुपयोग र संस्थागत जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।

सशस्त्र प्रहरी परिवार महिला संघको नाममा प्रधान कार्यालयदेखि प्रदेशस्थित बाहिनी, गण, गुल्म र सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म रकम संकलन गरिएको दाबीले संगठनभित्र तरंग पैदा गरेको छ। सामाजिक सेवाका नाममा आयोजना गरिएका कार्यक्रमको वास्तविक खर्च कति हो, कति रकम उठाइयो, कसले उठायो र कहाँ खर्च भयो भन्ने विवरण सार्वजनिक नहुँदा आर्थिक पारदर्शितामाथि थप शंका पैदा भएको छ। सबैभन्दा गम्भीर पक्ष, संगठनभित्रका अधिकृतदेखि जवानसम्मलाई व्यक्तिगत रूपमा रकम उपलब्ध गराउन दबाब दिइएको स्रोतको दाबी छ। यदि यस्तो भएको हो भने त्यो स्वैच्छिक सहयोग नभई संगठनात्मक शक्ति र पदको प्रभाव प्रयोग गरेर गरिएको आर्थिक संकलनको विषय बन्न सक्छ।

प्राप्त कागजातअनुसार, २०८३ साल कात्तिक २३ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित कृष्णमोहन स्मृति भवनमा तिहारको शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम आयोजना गरिएको थियो। प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघले विभिन्न इकाईको सहभागिता जुटाउन औपचारिक पत्राचारसमेत गरेको देखिन्छ। संघकी सदस्य–सचिव विभूति केसी कार्कीले हस्ताक्षर गरेको पत्रमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्थित संघका पदाधिकारीलाई कार्यक्रमबारे जानकारी गराउँदै सहभागिताका लागि अनुरोध गरिएको छ।

पत्रमा देउसी–भैलोबाट प्राप्त दक्षिणा रकम विभिन्न समुदायका गरिब, असहाय तथा पिछडिएका क्षेत्रका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने उल्लेख छ। उद्देश्य सामाजिक र परोपकारी देखिए पनि त्यसको कार्यान्वयनका क्रममा संगठनका विभिन्न निकायबाट रकम संकलन गरिएको आरोपले अर्को बहस जन्माएको छ।स्रोतका अनुसार, महिला संघकी अध्यक्ष तथा आईजीपी पत्नी सावित्रा कुमारी जैशीको निर्देशन र एसपी दर्शन गिरीको समन्वयमा प्रधान कार्यालयका विभिन्न विभाग तथा मातहतका इकाईबाट रकम उठाइएको थियो।

प्राप्त विवरणअनुसार प्रधान कार्यालयको केन्द्रीय लेखाबाट पाँच लाख रुपैयाँ, कार्य विभागबाट एक लाख, मानवस्रोत विभागबाट एक लाख, सीमा सुरक्षा विभागबाट एक लाख, एपीएफ अस्पतालबाट एक लाख ५० हजार र मुद्दति तथा सेवा निर्देशनालयबाट ७५ हजार रुपैयाँ संकलन गरिएको दाबी छ।त्यसैगरी सवारी शाखा, इन्टेलिजेन्स ब्युरो, उपत्यका बाहिनी, दंगा नियन्त्रण गण कीर्तिपुर, दक्षिणकाली गण ललितपुर, गुह्येश्वरी गण भक्तपुर र विपद् गण सिनामंगललगायतका इकाईबाट समेत रकम संकलन गरिएको स्रोतको भनाइ छ।यो विवरण सही हो भने प्रधान कार्यालयकै विभिन्न विभागबाट मात्रै लाखौँ रुपैयाँ संकलन भएको देखिन्छ। तर, रकम कुन शीर्षकमा संकलन गरियो, कुन निर्णयबाट स्वीकृत भयो र त्यसको आधिकारिक लेखा कहाँ राखियो भन्ने प्रश्नको जवाफ अझै सार्वजनिक भएको छैन।

एसएसपीदेखि जवानसम्मलाई रकम दिन दबाब ?
संगठनभित्रको असन्तुष्टिको मुख्य कारण रकम संकलन मात्र नभई त्यसका लागि प्रयोग गरिएको भनिएको दबाबको शैली हो।स्रोतका अनुसार प्रधान कार्यालयमा एसएसपी दर्जा वा सोभन्दा माथिका अधिकृतका श्रीमतीहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन दबाब दिइएको थियो। महिला संघका पदाधिकारीहरूलाई समेत रकम उपलब्ध गराउन भनिएको र कार्यक्रममा सहभागी अधिकृत, जुनियर अधिकृत, बिल्लादार, जवान तथा खेलाडीहरूलाई व्यक्तिगत रूपमा रकम दिन लगाइएको दाबी गरिएको छ।

सामाजिक संस्थाको कार्यक्रममा स्वैच्छिक सहयोग गर्नु अस्वाभाविक होइन। तर, सुरक्षा संगठनभित्र पद, कमान्ड र मातहतको सम्बन्ध प्रयोग गरेर रकम संकलन गरिएको हो भने त्यसलाई सामान्य सहयोगको संज्ञा दिएर उम्किन मिल्दैन।सशस्त्र प्रहरीमा तल्लो तहका कर्मचारीले माथिल्लो तहको निर्देशनविरुद्ध बोल्न सक्ने अवस्था कति सहज छ भन्ने प्रश्न पनि यहाँ जोडिन्छ। स्वेच्छाले सहयोग नगर्ने कर्मचारीलाई असहज परिस्थिति सिर्जना हुने वातावरण बनाइएको हो भने त्यो संगठनको अनुशासन होइन, पदको प्रभावबाट आर्थिक दबाब सिर्जना गर्ने प्रवृत्ति हो।

देउसी–भैलो विवादित भएपछि स्वास्थ्य शिविरको आवरण ?
देउसी–भैलोका नाममा रकम संकलन भइरहेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि केही समय रकम उठाउने प्रक्रिया रोकिएको स्रोतको दाबी छ। तर, संकलन अभियान नै रोकिएको नभई अर्को कार्यक्रमको आवरणमा पुनः सक्रिय बनाइएको आरोप लागेको छ।२०८३ साल मंसिर ५ गते बिहान ९ः३० बजे पर्साको वीरगन्ज महानगरपालिका–२३, प्रसौनी बिर्तास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा सशस्त्र प्रहरी परिवार महिला संघले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

संघकी अध्यक्ष सावित्रा कुमारी जैशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ पोखरेल र सहसचिव मीना थापासमेत सहभागी थिए।स्वास्थ्य सेवा प्रवाह आफैँमा प्रशंसनीय काम हो। तर, यही कार्यक्रमसँगै मधेस प्रदेशका विभिन्न सशस्त्र प्रहरी इकाईबाट रकम संकलनको प्रक्रिया अघि बढाइएको स्रोतको दाबीले स्वास्थ्य शिविरको उद्देश्य र आर्थिक व्यवस्थापनमाथि प्रश्न उठाएको छ। स्रोतका अनुसार वीरगन्जस्थित एक प्रतिष्ठित होटलमा बसेर विभिन्न बाहिनी, गण, सीमा सुरक्षा गण, गुल्म तथा बीओपीका प्रतिनिधिसँग रकम उपलब्ध गराउने विषयमा समन्वय गरिएको थियो। 

विभिन्न इकाईलाई निश्चित रकम उपलब्ध गराउन भनिएको र कबुल गरिएको रकम नगदमार्फत संकलन भइरहेको दाबीसमेत गरिएको छ।यदि स्वास्थ्य शिविर सञ्चालनका लागि आर्थिक सहयोग आवश्यक थियो भने त्यसको औपचारिक निर्णय, स्वीकृत बजेट, सहयोगदाताको विवरण र खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने हो। तर, कार्यक्रमको नाममा मातहतका सुरक्षा इकाईलाई निश्चित रकम उपलब्ध गराउन भनिएको हो भने त्यसको औचित्य र वैधानिकतामाथि प्रश्न उठ्नु स्वाभाविक हो।

एसपी दर्शन गिरीको भूमिका के ?
रकम संकलनको समन्वयमा एसपी दर्शन गिरी सक्रिय रहेको स्रोतको दाबी छ। महिला संघकी अध्यक्षको विश्वासपात्रका रूपमा उनले बाहिनी, तालिम शिक्षालय, गण, गुल्म तथा बीओपीहरूसँग समन्वय गरी रकम निर्धारण र व्यवस्थापनको काम गरिरहेको बताइएको छ।त्यस्तै, महिला संघकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ पोखरेलका श्रीमान् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तेज पोखरेल सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम केन्द्रका समादेशक हुन्।

स्रोतका अनुसार उनले पनि मधेस प्रदेशका विभिन्न इकाईसँग समन्वय गरी रकम संकलनमा भूमिका निर्वाह गरिरहेका छन्।संस्थागत जिम्मेवारी, पारिवारिक सम्बन्ध र संगठनभित्रको पदगत पहुँच एकै ठाउँमा जोडिएको देखिने यी आरोपमाथि निष्पक्ष छानबिन आवश्यक छ। कसले कसलाई निर्देशन दियो, रकम कसले तोक्यो, कसले संकलन गर्‍यो र अन्ततः कसको जिम्मामा रकम पुग्यो भन्ने विषय सार्वजनिक हुनुपर्छ।

क्यूआरबाट नगदसम्म : माध्यम फेरियो, संकलन रोकिएन ?
यसअघि महिला संघका नाममा रकम संकलन भइरहेको विषय सार्वजनिक भएपछि केही इकाईले रकम पठाउन रोकेको स्रोतको दाबी छ। त्यसअघि केही इकाईले क्यूआर कोडमार्फत रकम पठाइसकेको बताइएको छ।सञ्चारमाध्यममा विषय सार्वजनिक भएपछि बैंकिङ च्यानलबाट रकम पठाउने प्रक्रिया रोकिएको र तिहार तथा छठ पर्व सकिएपछि स्वास्थ्य शिविरको कार्यक्रमसँगै नगद संकलन सुरु गरिएको स्रोतको भनाइ छ।

यो दाबी सत्य हो भने रकम संकलनको पारदर्शिता थप शंकास्पद बन्न सक्छ। बैंकिङ च्यानलबाट रकम पठाउँदा कारोबारको अभिलेख रहन्छ। तर, नगदमा रकम संकलन गरिएको हो भने त्यसको आधिकारिक रसिद, दर्ता किताब र बैंक दाखिला विवरणबिना आर्थिक हिसाब परीक्षण गर्न कठिन हुन्छ।अहिले मधेस प्रदेशबाट सुरु गरिएको भनिएको अभियानलाई कोशी, लुम्बिनी हुँदै अन्य प्रदेशमा विस्तार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। विभिन्न प्रदेशका बाहिनी, गण, गुल्म र बीओपीबाट रकम संकलन गर्ने योजना रहेको दाबीसमेत गरिएको छ।

सशस्त्र प्रहरी बलको नेतृत्वमा रहेका आईजीपी नारायणदत्त पौडेलकी पत्नी संघको अध्यक्ष रहेको तथ्य आफैँमा कुनै अनियमितताको प्रमाण होइन। तर, अध्यक्षको पारिवारिक सम्बन्ध र आईजीपीको संस्थागत पदलाई आधार बनाएर मातहतका कर्मचारी तथा इकाईमाथि आर्थिक दबाब सिर्जना गरिएको हो भने त्यो गम्भीर स्वार्थको द्वन्द्व र संस्थागत मर्यादाको विषय बन्न सक्छ। 

आईजीपी स्वयंलाई यी गतिविधिबारे कति जानकारी छ ? रकम संकलनका लागि उनले कुनै औपचारिक स्वीकृति दिएका छन् कि छैनन् ? मातहतका इकाईलाई आर्थिक सहयोग उपलब्ध गराउन कुनै निर्देशन वा मौखिक दबाब दिइएको थियो कि थिएन ? यी प्रश्नको स्पष्ट जवाफ आवश्यक छ।संगठनको नेतृत्वमा रहेको व्यक्तिको पारिवारिक सम्बन्ध जोडिएको संस्थाले मातहतका कार्यालयबाट आर्थिक सहयोग संकलन गर्दा थप पारदर्शिता र संस्थागत दूरी कायम गर्नुपर्ने हुन्छ। अन्यथा, स्वैच्छिक सहयोगको नाममा पद र पहुँचको प्रभाव प्रयोग भएको आशंका बलियो हुन्छ।

छात्रवृत्तिका नाममा उठेको रकमको हिसाब खोइ ?
महिला संघले देउसी–भैलोबाट प्राप्त दक्षिणा रकम गरिब, असहाय तथा पिछडिएका क्षेत्रका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने आफ्नो पत्रमै उल्लेख गरेको छ।त्यसो भए अहिलेसम्म कति रकम संकलन भयो ? कुन–कुन इकाईबाट कति रकम प्राप्त भयो ? कति रकम छात्रवृत्तिका लागि छुट्याइयो ? कति विद्यार्थीले छात्रवृत्ति पाए ? स्वास्थ्य शिविरमा कति खर्च भयो ? खर्चको बिल, भरपाई र बैंक विवरण कहाँ छ ?यी प्रश्नको जवाफ सार्वजनिक नगरी सामाजिक सेवाको नाममा रकम संकलनलाई निरन्तरता दिनु उचित हुँदैन।

विशेषगरी स्वास्थ्य शिविर सञ्चालनको नाममा रकम उठाइएको हो भने शिविरको वास्तविक लागत, स्वास्थ्य सामग्री, औषधि, चिकित्सक तथा व्यवस्थापन खर्चको छुट्टाछुट्टै विवरण सार्वजनिक हुनुपर्छ। संकलित रकम र वास्तविक खर्चबीच कुनै अन्तर छ भने त्यसको लेखापरीक्षण हुनुपर्छ।

अब छानबिन कसले गर्ने ?
सशस्त्र प्रहरी बल कुनै व्यक्तिको निजी संस्था होइन। यो राज्यको सुरक्षा संगठन हो। यसका अधिकृत, जवान, कार्यालय र स्रोतसाधन सार्वजनिक जिम्मेवारीसँग जोडिएका छन्। त्यसैले कुनै पारिवारिक वा सामाजिक संघसंस्थाको कार्यक्रमका नाममा मातहतका इकाईबाट रकम संकलन गरिएको हो भने त्यसको संस्थागत जवाफदेहिता अनिवार्य हुन्छ।

यस प्रकरणमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तत्काल निम्न विषयमा स्पष्ट विवरण सार्वजनिक गर्न आवश्यक छ :
१. देउसी–भैलो र स्वास्थ्य शिविरका नाममा हालसम्म संकलित कुल रकम कति हो ?
२. प्रधान कार्यालयका विभाग, बाहिनी, गण, गुल्म र बीओपीबाट कति रकम संकलन गरियो ?
३. रकम संकलन गर्न आईजीपी वा प्रधान कार्यालयबाट कुनै औपचारिक अथवा मौखिक निर्देशन दिइएको थियो ?
४. एसपी दर्शन गिरी र एसएसपी तेज पोखरेलको रकम संकलनमा के भूमिका थियो ?
५. क्यूआर कोड तथा नगदमार्फत प्राप्त रकम कुन बैंक खातामा जम्मा गरिएको छ ?
६. संघले छात्रवृत्ति र स्वास्थ्य शिविरमा कति रकम खर्च गर्‍यो ? त्यसको लेखापरीक्षण भएको छ कि छैन ?
७. कर्मचारी तथा सुरक्षाकर्मीलाई व्यक्तिगत रूपमा रकम दिन दबाब दिइएको हो वा होइन ?

यी विषयमा आन्तरिक छानबिन मात्र पर्याप्त नहुन सक्छ। आवश्यकताअनुसार स्वतन्त्र आर्थिक परीक्षण र सम्बन्धित निकायबाट छानबिन गरिनुपर्छ। सामाजिक सेवाको नाममा चन्दा उठाउन पाइन्छ, तर संगठनको पद र पहुँच प्रयोग गरेर आर्थिक दबाब सिर्जना गर्न पाइँदैन। 

देउसी–भैलोको दक्षिणा होस् वा स्वास्थ्य शिविरको सहयोग, प्रत्येक रुपैयाँको हिसाब सार्वजनिक हुनुपर्छ। सशस्त्र प्रहरीको अनुशासनलाई आर्थिक संकलनको औजार बनाइएको हो भने त्यसको जवाफदेहिता नेतृत्वबाटै सुरु हुनुपर्छ।सशस्त्र प्रहरी बलको नेतृत्वले अब मौन बसेर यो प्रश्न टार्न मिल्दैन। संगठनभित्रका जवान र कर्मचारीको पसिनाबाट चलेको संस्थालाई कसैको पारिवारिक प्रभावमा आर्थिक संकलनको माध्यम बनाइएको हो कि होइन भन्ने विषयको छानबिन र सत्यतथ्य सार्वजनिक गर्नु अनिवार्य छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup