लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

इनसाइट

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

“आकाशमा मेग गर्जंदा पनि डर लाग्छ, हामीलाई जन्दिगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले”, उहाँ भन्नुहुन्छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन
रसुवा, २३ असोजः रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेकोे त्यो दृश्य उहाँको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन । अझै पनि यी सबैै सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ त उहाँलाई । यतिका दिनसम्म पनि कान्छाको आँखामा भने भदौ १० गतेको त्यो बाढीको भेल नाचिरहन छाडेको छैन । त्यो बाढीको गड्याङगुडुङको आवाज अझै कान्छाको कानमा गुञ्जिरहन छाडेको छैन । भेलले बगाउँदै गर्दा आफन्त चिच््याएका हुन्थे । ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काप्न छाडेको छैन । ती घटना बिर्सनसके पो मन भारी हुन छाड्थ्यो कान्छाको । 
 
बाढीपछि मृत्यु भएका ती आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन् । हराएका ती प्रियजन अब त फर्केने आशा पनि मरिसक्यो । कहिलेकाहीँ फर्की आउँछन् कहीँकतैबाट पो भन्ने भ्रम पनि मनबाट पूर्ण रूपमा हट्न सकिरहेको छैन कान्छाको । आँखै अगाडि बगिरहेका ती प्रिजन सम्झन्छन् । बस्तीलाई बाढीले बढारेको दृश्य आँखामा नाचिरहन्छ । अनि झन् मन भक्कानिन्छ कान्छाको । सुन्दर बस्तीलाई बाढीले क्षणभरमै बगर बनाउरला र यति धरै कुरूप बन्ला बन्ने कल्पना पनि गर्नुभएको थिएन कान्छाले । ती उजाड लाग्दो बगरलाई हेर्दा आँखा रसाउँछ उहाँको । 
 
त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो । बाढी आउँदा उहाँ केही अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल हुनुभयो तर सुरक्षित स्थानमा पुगेपछि पनि उहाँले देखेको दृश्य झनै भयावह थियो । “गड्याङगुडुङ गरेर ठूलो आवाज आयो । के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ”, कान्छा त्यो दिन सम्झनुहुन्छ, “बेतोडले भागेर अलि माथि पुगेँ । तल हेर्दा मानिस बगिरहेका थिए । कोही चिच्याइरहेका थिए । हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बडा¥यो ।”
 
आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा भने उहाँको मनमा गहिरो गरी बसेको छ । “सयौँ मानिस बगेको हेर्नुप¥यो । त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन”, कान्छा भन्नुहुन्छ, “बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र ? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ ।” त्यसदिन बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सम्झनासमेत बगाएर लग्यो । सँगै खेलेका साथीहरू, परिचित अनुहार र त्यो बस्ती अहिले कान्छाका सम्झनामा मात्रै छन् । गड्याङगुडुङको आवाज, एकाएक उर्लिएको भेल, मानिसको चिच्याहट र आँखै अगाडि बगिरहेको बस्ती दृश्य सायद कान्छाको मानष्पटलमा ननाचेको कुनै क्षण नै नहोला । 
 
विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन... 
बाढी गएको यतिका दिन बितिसक्दा पनि अझै डराइरहेको छ कान्छाको मन । घरीघरी ठूलो विपद् फेरि दोहोरिन्छ कि भन्ने चिन्ताले सताउन छाडेको छैन । “त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ”, उहाँ भन्नुहुन्छ, “फेरि यस्तै विपद् दोहोरिन्छ कि डर लागिरन्छ । रातैभर आनन्दले निन्द्रा नै पर्दैन ।”
 
कान्छाका श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखै अगाडिको त्यो घटना न सम्झिन मन छ । न  बिर्सन सजिलै सक्नुहुन्छ । उहाँका पनि कयौँ रातहरू डरै डरमा बितिसकेँ । अझै पनि मनको डर हट्न सकेको छैन । “आकाशमा मेग गर्जंदा पनि डर लाग्छ, हामीलाई जन्दिगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले”, उहाँ भन्नुहुन्छ । 
 
अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना छ जना आफन्तलाई त्यही बाढीमा गुमाउनुप¥यो । बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला भन्ने लाग्छ सन्दुलाई । भत्किएका घर, सडक र संरचना पनि फेरि उठाउन सकिएला तर बाढीले खोसेका आफन्त भने कहिल्यै फर्कने छैनन् । सम्झनाले उहाँलाई पनि हरेक दिन सताइरहेको छ ।
 
सन्दुको घरलाई भने बाढीले छुन सकेन । घर जोगिएकामा खुसी हुनुपर्ने हो । तर, घरको आँगनीको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उहाँको मन झन् भारी बनाउँछ । आफ्नै घर जोगिएको खुसीभन्दा तलको बस्ती र आफ्ना आफन्त गुमाएको पीडा ठूलो छ  उहाँलाई । “बस्ती त फेरि बनाउन सकिन्छ होला । घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने ?” सन्दुको भनाइमा बाढीले छाडेको पीडाको गहिराइ स्पष्ट झल्किन्छ ।
 
गत वर्ष पनि यसपटकको जस्तै भारी वर्षाबिना भोटेकोशीमा बाढी आएको थियो । तर यस्तो सुनामी थिएन । सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ– फेरि पनि यो भन्दा ठूलो बाढी आयो भने ? “अब त ठूलो बाढी जुनसुकैबेला आउला भन्ने डर लाग्छ । बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ”, उहाँ भन्नुहुन्छ । 
 
त्यो दिन बाढी आउँदैछ भन्ने पूर्वसूचना आफूहरूले नपाएको सन्दु बताउनुहुन्छ । नदीको आवाज अस्वाभाविक आएपछि के रहेछ भनेर हेर्दा पनि निकै ठूलो बाढी पो रहेछ । “हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौँ । त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर आवाज दिन खोजेँ । कसैले सुनेन”, उहाँ भन्नुहुन्छ ।
 
उर्लिरहेको बाढीको गर्जनसामु एउटा मानिसको सुस्केराको आवाज कति न ठूलो हुनु र मानिसले सुन्नु । सुनेर पनि भाग्न भ्याउने अवस्था थिएन । सन्दुले सुस्केरा दिँदादिँदै उहाँकै आँखा अघि बाढीले बस्ती र मानिसलाई बगायो । त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन छाडेको छैन । “अझै पनि यी सबै सपना भइदिएहुन्थ्यो जस्तो लाग्छ । बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो”, उहाँ भन्नुहुन्छ । तर, त्यो सपना हुनै सक्दैन अब, कठोर सत्य हो । जुन स्वीकार गर्नुको विकल्प नै छैन । 
 
स्याफ्रुबेँसी बजारको उजाड बगर हेरेपछि आफन्त सम्झिरहनुहुन्छ सन्दु । घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा अरु गुमाएकाको पीडा बल्झिन्छ । बाढीको भेल तलतिर बगेर गयो । तर, त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास भने अझै बगेको छैन । 
 
विपद्पछिको कठिन जीवनस्तर
भोटेकोशी बाढी गएको ४५ दिन बितिसकेको छ । बाढीले खोसेका जीवन फर्केर आउने छैनन् । बेपत्ता आफन्त भेटिने आशा पनि मरिसक्यो । बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन् । हिजोका सुन्दर बस्ती र हराभरा खेत, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगर बनेको छ । त्यो बगर देख्ने जो कोहीको मन भारी हुन्छ र आँखा रसाउँछन् ।
 
बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन । घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ । “महँगी असाध्यै छ । हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन । किनेर खान पनि नजिकै ठाउँ छैन । अलि टाढा जाँदा असाध्यै महँगो पर्छ”, सन्दु भन्नुहुन्छ, “बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ ।”
 
विपत्तिले दिएको पीडा र अभावकाबीच सन्दुको मनमा भने निराशासँगै पुनःसामान्य जीवनमा फर्किने झिनो आशा पनि बाँकी छ । सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उहाँलाई घचघच्याइरहन्छ । पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उहाँलाई थाहा छैन । अहिलेका लागि उहाँसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्किने प्रतीक्षा भने बाँकी नै छ । 
 
वैकल्पिक आवतजावतलाई तुइन
केही सामान किन्न र उपचार गर्न जानुपर्दा भने घण्टौँ कुरेर तुइनबाट आवातजावत गर्नुपर्ने अर्को समस्या सुनाउनुहुन्छ कान्छा तामाङ । “तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ । के गर्नु तुइनबाहेक अन्य केही विकल्प नै छैन”, उहाँ सुनाउनुहुन्छ ।
 
रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवातजावतका लागि बनाइएका ती तुइन निर्माण तथा मर्मतमा करिब रु २० लाख खर्च भएको जानकारी दिनुभयो । 
 
“नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ । त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ”, उहाँले भन्नुभयो, “रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा रहेको छ ।”
 
अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ । विभागका अनुसार स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ । रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ ।
 
विपद्पछि १२ झोलुङ्गे पुलको मर्मत सम्पन्न
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौ वटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको जानकारी दिनुभएको छ । तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिदको सम्झौता भई पहिलो पटकको सामानसमेत आपूर्ति भइसकेको छ उहाँको भनाइ छ ।
 
विभागका अनुसार मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन् । गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ ।
 
विभागका अनुसार यी १२ वटा झोलुङ्गे पुलको मर्मतमा करिब रु तीन करोड खर्च भएको छ । त्यस्तै गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।
 
विभागले बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत सुरु गरेको जनाएको छ । त्यस्तै क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको छ । थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup