लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाल रेडक्रसमा नियुक्तिको खेल : एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर !

इनसाइट

नेपाल रेडक्रसमा नियुक्तिको खेल : एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर !

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाल रेडक्रसमा नियुक्तिको खेल : एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालयमा जागिर !

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र कर्मचारी नियुक्तिको प्रक्रिया, संस्थागत सुशासन र प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाउने अर्को तथ्य सार्वजनिक भएको छ। एउटै व्यक्तिलाई फरक–फरक मितिमा दुईवटा नियुक्तिपत्र जारी गरी दुई छुट्टाछुट्टै कार्यालयमा जिम्मेवारी दिइएको रहस्य खुलेपछि संस्थाभित्रको नियुक्ति प्रक्रियामाथि थप शंका उत्पन्न भएको छ।

प्राप्त कागजातअनुसार दीपक घिमिरेलाई काठमाडौंस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय र काभ्रेपलाञ्चोकको बनेपा बुडोलस्थित कार्यालयमा छुट्टाछुट्टै नियुक्ति दिइएको देखिन्छ। एउटै व्यक्तिका नाममा दुई कार्यालयका लागि दुईवटा नियुक्तिपत्र जारी हुनु सामान्य प्रशासनिक त्रुटि मात्रै हो वा नियोजित रूपमा गरिएको निर्णय भन्ने प्रश्न अहिले उठेको छ।

प्राप्त नियुक्तिपत्रअनुसार घिमिरेलाई पहिलोपटक २०८३ जेठ ८ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयमा नियुक्त गरिएको थियो। त्यसको केही महिनापछि पुनः २०८३ असोज १८ गते बनेपा बुडोलस्थित कार्यालयमा उपनिर्देशक, आठौँ तहमा नियुक्ति दिइएको अर्को पत्र फेला परेको छ।

यहाँ प्रश्न केवल दुईवटा नियुक्तिपत्र जारी भएको होइन, पहिलो नियुक्तिको अवस्था स्पष्ट नगरी दोस्रो नियुक्ति कसरी दिइयो भन्ने हो। एउटै व्यक्तिलाई दुई कार्यालयमा जिम्मेवारी तोक्ने निर्णय कुन आधारमा भयो ? पहिलो नियुक्ति कायम थियो कि थिएन ? दोस्रो नियुक्तिअघि पहिलो नियुक्ति खारेज गरिएको थियो कि थिएन ? यी प्रश्नको जवाफ संस्थाले सार्वजनिक गर्नुपर्ने देखिन्छ।

झन् आश्चर्यजनक पक्ष के छ भने दुवै नियुक्तिपत्र संस्थाका महामन्त्री ऋषिरमण खनालले जारी गरेको देखिन्छ। प्राप्त कागजातमा दुवै नियुक्तिपत्र बुझ्ने व्यक्तिका रूपमा दीपक घिमिरे स्वयंको हस्ताक्षर रहेको छ। अर्थात् नियुक्ति दिने पदाधिकारी पनि एउटै र नियुक्तिपत्र बुझ्ने व्यक्ति पनि एउटै देखिएका छन्।

यदि दुवै नियुक्तिपत्र आधिकारिक हुन् भने एउटै व्यक्तिलाई दुई फरक कार्यालयमा नियुक्त गर्ने निर्णयको प्रशासनिक र कानुनी आधार के हो ? यदि एउटा नियुक्तिपत्र गलत वा अमान्य हो भने त्यसलाई किन सच्याइएन ? संस्थाको कर्मचारी प्रशासन सञ्चालन गर्ने जिम्मेवार पदाधिकारीले यसको जवाफ दिनुपर्ने हुन्छ।

नेपाल रेडक्रस सोसाइटीको विधान तथा कर्मचारी प्रशासनसम्बन्धी व्यवस्थाअनुसार पहिलेको नियुक्तिको अवस्था टुंगो नलगाई अर्को नियुक्ति दिन मिल्ने वा नमिल्ने विषयमा पनि प्रश्न उठेको छ। पहिलो नियुक्ति विधिवत् बदर वा खारेज नगरी दोस्रो नियुक्ति गरिएको हो भने त्यसले संस्थाको आन्तरिक प्रशासनिक प्रक्रिया र निर्णयको वैधतामाथि गम्भीर प्रश्न खडा गर्न सक्छ।

यस विषयमा दीपक घिमिरेसँग प्रतिक्रिया लिँदा उनले आफूले एउटा मात्रै नियुक्तिपत्र प्राप्त गरेको दाबी गरेका छन्। अर्को नियुक्तिपत्रबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।

तर प्राप्त दुवै नियुक्तिपत्रमा घिमिरेकै हस्ताक्षर देखिएको छ। आफूले एउटा मात्रै नियुक्तिपत्र बुझेको दाबी गर्नु र दुईवटै नियुक्तिपत्रमा उनकै हस्ताक्षर रहनुले उनको भनाइ र उपलब्ध कागजातबीच स्पष्ट विरोधाभास देखिएको छ। यदि दोस्रो नियुक्तिपत्रबारे उनलाई जानकारी नै थिएन भने त्यसमा उनको हस्ताक्षर कसरी रह्यो ? अथवा हस्ताक्षरको विषयमा कुनै विवाद छ भने त्यसको आधिकारिक परीक्षण कसले गर्ने ?

यसले महामन्त्री ऋषिरमण खनालको भूमिकामाथि समेत प्रश्न उठाएको छ। एउटै व्यक्तिका नाममा दुई नियुक्तिपत्र जारी गर्दा सम्बन्धित कर्मचारीको पूर्वनियुक्तिको अवस्था किन यकिन गरिएन ? नियुक्तिसम्बन्धी निर्णय कुन निकायबाट स्वीकृत भयो ? संस्थाको अभिलेखमा दुवै नियुक्ति कसरी दर्ता भए ? र एउटै व्यक्तिले दुई कार्यालयको जिम्मेवारी पाउने गरी निर्णय गर्ने आधार के थियो ?

नेपाल रेडक्रसजस्तो मानवीय सेवामा समर्पित संस्थाभित्र कर्मचारी नियुक्ति पारदर्शी, विधिसम्मत र जवाफदेही हुनुपर्ने हो। तर एउटै व्यक्तिलाई दुई नियुक्तिपत्र, दुई कार्यालय र फरक–फरक जिम्मेवारी दिइएको विषय सार्वजनिक हुँदा संस्थाको प्रशासनिक अनुशासनमाथि नै प्रश्न उठेको छ।

अब नेपाल रेडक्रसको नेतृत्वले दुईवटै नियुक्तिपत्रको आधिकारिकता, नियुक्तिको निर्णय प्रक्रिया, पहिलो नियुक्तिको अवस्था र दोस्रो नियुक्तिको आधार सार्वजनिक गर्नुपर्छ। आवश्यक परे नियुक्तिपत्रमा रहेका हस्ताक्षर तथा संस्थाको नियुक्ति अभिलेखसमेत स्वतन्त्र रूपमा परीक्षण गरिनुपर्छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup