लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

डिडिसीको नाममा जापान र दुबईमा नक्कली घिउको धन्दा, मन्त्रालयदेखि भन्सारसम्मकै भूमिका शंकास्पद !

इनसाइट

डिडिसीको नाममा जापान र दुबईमा नक्कली घिउको धन्दा, मन्त्रालयदेखि भन्सारसम्मकै भूमिका शंकास्पद !

काठमाडौं विमानस्थल भन्सार र वीरगञ्ज भन्सारबाट त्यस्ता सामान कसरी बाहिरिए ? ती सामानको निर्यात अभिलेख कहाँ छ ? यो खोजीको बिषय हो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
डिडिसीको नाममा जापान र दुबईमा नक्कली घिउको धन्दा, मन्त्रालयदेखि भन्सारसम्मकै भूमिका शंकास्पद !

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) भित्र भएको भनिएको भ्रष्टाचार, किर्ते तथा अनियमितताविरुद्ध न्यूजबिहानी डटकमले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । संस्थानभित्रका अनियमितताबारे समाचार सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिडिसीका आठ कर्मचारीलाई पक्राउ गरिसकेको छ । केही कर्मचारी निगरानीमा छन् । यसैबीच, डिडिसीको नाम, लोगो र लेबल प्रयोग गरी जापान, दुबईलगायतका विदेशी बजारमा नक्कली घिउ बिक्री भइरहेको खुलासा भएको छ । जापानका बजारमा डिडिसीको नाममा घिउ छ्यापछ्याप्ती बिक्री भइरहे पनि संस्थानले भने जापानमा आफूले घिउ नपठाएको बताएको छ । 

त्यसो भए डिडिसीको नाम र लोगो प्रयोग गरेर घिउ कसले उत्पादन गर्यो, कसले जापान पुर्यायो र कसको अनुमतिमा बिक्री भइरहेको छ भन्ने बिषय थप अनुसन्धानको बिषय बनेको छ । जापानमा बिक्री भइरहेको भनिएको घिउमा प्रयोग गरिएको लेबल र डिडिसीको वास्तविक उत्पादनको प्याकेजिङबीच भिन्नता देखिएको छ । डिडिसीको सक्कली घिउको हरियो रङको लोगो तथा प्याकेजिङमा संस्थानको नाम स्पष्ट उल्लेख हुने भए पनि शंकास्पद उत्पादनमा लोगो र लेबलको प्रयोग फरक रहेको छ ।

यस विषयमा नेपाल प्रहरीको सीआईबीमा उजुरी तथा प्रमाणसमेत पेस गरिएको छ । जापान र दुबईलगायतका बजारमा नक्कली घिउ तथा लेबल प्रयोग गरी बिक्री भइरहेको विषयमा अनुसन्धान भइरहेको बताइए पनि ठोस कारबाही सार्वजनिक नहुँदा अनुसन्धानमाथि नै प्रश्न उठ्न थालेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई समेत यस विषयमा जानकारी गराइएको छ । तर, सम्बन्धित निकायबाट प्रभावकारी अनुसन्धान र कारबाही अघि बढेको छैन । सचिव मिश्र सहसचिव हुँदादेखि नै मन्त्रालयमा लामो समय काम गरेको र यस विषयबारे सुरुदेखि जानकारी रहेका अधिकारी हुन् । त्यसो हुँदा पनि चुप बस्नुले यस विषयमा उनको भूमिका र जिम्मेवारीबारे पनि प्रश्न उठेको छ ।

 भन्सार र क्वारेन्टाइनको भूमिका पनि शंकाको घेरामा
नेपालबाट कुनै पनि दुग्धजन्य उत्पादन विदेश पठाउँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रयोगशाला परीक्षण हुनुपर्ने र त्यसका लागि क्रेता तथा विक्रेताबीचको सम्झौतालगायतका कागजात आवश्यक हुन्छ । परीक्षणपछि पशु सेवा विभागअन्तर्गतको क्वारेन्टाइन कार्यालयबाट स्वास्थ्य प्रमाणपत्र जारी हुने र त्यसकै आधारमा भन्सार प्रक्रिया पूरा हुनुपर्ने व्यवस्था छ ।

 तर, डिडिसीको नाममा नक्कली लेबल प्रयोग गरिएको घिउ नेपालबाटै निर्यात भएको हो भने त्यसलाई खाद्य गुणस्तर परीक्षण, क्वारेन्टाइन र भन्सारले कसरी अनुमति दिए भन्ने प्रश्न उठेको छ । काठमाडौं विमानस्थल भन्सार र वीरगञ्ज भन्सारबाट त्यस्ता सामान कसरी बाहिरिए ? ती सामानको निर्यात अभिलेख कहाँ छ ? यो खोजीको बिषय हो ।

उत्पादकको नाम, ठेगाना, सम्पर्क नम्बर तथा आवश्यक विवरणबिनाको वस्तु बजारमा बिक्री वितरण तथा निर्यात गर्नु गम्भीर नियामकीय प्रश्न हो । यदि नक्कली लेबलसहितका सामान नेपालबाटै पठाइएको हो भने त्यसमा संलग्न उत्पादक, निर्यातकर्ता, भन्सार र क्वारेन्टाइनका कर्मचारीको भूमिका छानबिन गर्नुपर्ने देखिन्छ । यसमा मन्त्रालयदेखि विभिन्न कर्मचारीसम्मको मिलेमतो रहेको हुन सक्छ ।

डिडिसीको नाम र ब्रान्ड दुरुपयोग गरी विदेशी बजारमा नक्कली घिउ बिक्री हुँदा संस्थानको प्रतिष्ठा र आर्थिक अवस्थामा समेत क्षति पुगेको एक कर्मचारी बताउँछन् । डिडिसीको ब्रान्ड र लोगो दुरुपयोग गर्ने व्यक्ति तथा कम्पनीविरुद्ध क्षतिपूर्तिसहित कानुनी कारबाही अघि बढाउनुपर्ने कर्मचारीहरूको माग छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup