काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। लामो समयदेखि नेतृत्वविहीन अवस्थामा सञ्चालन हुँदै आएको प्राधिकरणले नयाँ अध्यक्ष पाएसँगै संस्थागत नेतृत्वको अन्योल अन्त्य भएको छ।योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भदौ २ गते पदबाट बर्खास्त भएपछि प्राधिकरण सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। करिब एक वर्षको अन्योलपछि सरकारले डा. थापालाई चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।नवनियुक्त अध्यक्ष डा. थापासँग नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेको अनुभव छ। केन्द्रीय बैंकिङ, वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनका क्षेत्रमा उनले लामो समय काम गरेका छन्।
शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि
डा. थापाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर (एमए), व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) तथा कानुनमा स्नातक (एलएलबी) गरेका छन्।त्यसैगरी, भारतको सिंघानिया विश्वविद्यालयबाट ‘नेपाली बैंकहरूमा जोखिम व्यवस्थापनमा संस्थागत सुशासनको प्रभाव’ विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षणमा लामो अनुभव हासिल गरेका डा. थापाको नियुक्तिलाई बीमा क्षेत्रको नियामकीय क्षमता र संस्थागत सुशासन सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।
नयाँ नेतृत्वसँगै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको प्रभावकारी नियमन, वित्तीय जोखिम नियन्त्रण, बीमितको हित संरक्षण, दाबी भुक्तानीमा देखिएका समस्या समाधान तथा बीमा क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धिमा कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ।करिब एक वर्षसम्म नेतृत्वको अन्योल भोगेको प्राधिकरणका लागि अब नयाँ अध्यक्षको कार्यक्षमता, निष्पक्षता र नियामकीय सक्रियता नै प्रमुख परीक्षाको विषय हुनेछ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्