काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित एभरेष्ट होटलमा आज आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध भएका छन्। सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, एक्सट्रीम इनर्जी ड्रिंकले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि यी खेलाडीहरूको सहभागिता रहनेछ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाली क्रिकेटको विकास र खेलाडीलाई प्रोत्साहन गर्नुका साथै युवालाई खेलकुदतर्फ आकषर्ित गर्न यस्तो सहकार्य महत्वपूणर् हुने एक्सट्रीम इनर्जी ड्रिंकले जनाएको छ।
एनपीएलका ७ टोलीलाई समेट्दै एक्सट्रीमको विशेष संस्करणको क्यान सार्वजनिक
कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको छ। एनपीएलका सम्बन्धित टोलीको पहिचान र क्रिकेटप्रतिको समर्थकहरूको उत्साहलाई समेटेर तयार गरिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकसँगको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीले जनाएको छ।
विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्सट्रीमको उपस्थिति अझ प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्