काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा सञ्चालित नेपाल सोसल बिजनेस (एनएसबी) ले सामाजिक तथा वातावरणीय क्षेत्रमा काम गरिरहेका तीन उद्यममा ५५ लाख रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । एनएसबीको चौथो चरणको ‘सोसल इम्प्याक्ट फंडीङ् इनिसिएटिभ’ अन्तर्गत ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालि, प्रवाह नेपाल प्रालि र स्याहार प्रोडक्ट्स छनोट भएका हुन्। छनोट भएका उद्यममध्ये ग्रीन रोडले २५ लाख रुपैयाँ तथा प्रवाह नेपाल र स्याहार प्रोडक्ट्सले १५–१५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
ग्रीन रोड वेस्ट म्यानेजमेन्टले पुनःप्रयोग गर्न कठिन प्लास्टिक तथा सिसाजन्य फोहोरलाई सडक निर्माण सामग्री, इँटा, कम्प्रेस्ड बोर्ड तथा सिमेन्ट उद्योगमा प्रयोग हुने वैकल्पिक इन्धनमा रूपान्तरण गर्दै आएको छ । प्रवाह नेपालले राइडरको आम्दानी पारदर्शी रूपमा अभिलेख तथा अनुगमन गर्न सकिने प्रणाली र विद्युतीय बाइक भाडामा उपलब्ध गराउने सेवामार्फत दिगो रोजगारी प्रवर्द्धन गर्दै आएको छ । त्यस्तै, स्याहार प्रोडक्ट्सले वातावरणमैत्री सरसफाइ तथा सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ ।
लगानीका लागि उद्यम छनोट गर्न आयोजित चौथो चरणको लगानी प्रस्तुतीकरण कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीले आफ्ना व्यावसायिक योजना, सामाजिक प्रभाव र विस्तारका सम्भावना प्रस्तुत गरेका थिए । व्यावसायिक रूपमा दिगो रहँदै सामाजिक तथा वातावरणीय क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने उद्यमलाई प्राथमिकता दिइएको एनएसबीले जनाएको छ । सन् २०१४ मा स्थापना भएको नेपाल सोसल बिजनेसले सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्दै आएको छ ।
संस्थाले हालसम्म २० भन्दा बढी उद्यमलाई सहयोग गरिसकेको जनाएको छ । यसले न्यून ब्याजदर, धितोरहित लगानी र लचिलो भुक्तानी अवधिसहित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । यस्तो लगानीबाट उद्यमको व्यावसायिक क्षमता विस्तार, रोजगारी सिर्जना तथा सामाजिक र वातावरणीय समस्या समाधानमा योगदान पुग्ने अपेक्षा गरिएको छ । चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले लगानी रकम उपलब्ध गराउनु सुरुवात मात्र भएको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य मापनयोग्य, अर्थपूर्ण र दीर्घकालीन प्रभाव सिर्जना गर्नु रहेको बताएका छन् ।
लगानी प्राप्त गर्ने प्रवाह नेपालका एक उद्यमीले एनएसबीको सहयोगले विद्यमान क्षमताको उपयोग गर्दै व्यवसाय विस्तार र सामाजिक प्रभाव बढाउने नयाँ अवसर खोज्न प्रोत्साहन मिलेको बताए। चौधरी फाउन्डेसनको पहलमा सञ्चालित एनएसबीले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनसँगको साझेदारीमा काम गर्दै आएको छ भने सिद्धार्थ बैंक यसको बैंकिङ साझेदारका रूपमा रहेको छ । संस्थाले सामाजिक उद्यममार्फत समावेशी आर्थिक विकास तथा समुदाय र वातावरणमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्