लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

६ वर्षमा ११ करोड गायब, नेतृत्व बेखबर ! सशस्त्रका डीआईजीसहित उच्च अधिकारीमाथि अनुसन्धान

इनसाइट

६ वर्षमा ११ करोड गायब, नेतृत्व बेखबर ! सशस्त्रका डीआईजीसहित उच्च अधिकारीमाथि अनुसन्धान

सुरुमा रकम फिर्ता गर्न मौका दिइए पनि रकम फिर्ता हुन नसकेपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
६ वर्षमा ११ करोड गायब, नेतृत्व बेखबर ! सशस्त्रका डीआईजीसहित उच्च अधिकारीमाथि अनुसन्धान

काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ प्रहरी अधिकारीहरूमाथि समेत अनुसन्धान अघि बढाएको छ । विद्यालयको लेखा अधिकृतका रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ गरेर अनुसन्धान थालेको आयोगले डीआईजीसम्मका अधिकारीलाई बयानका लागि बोलाएको छ ।

अनियमितता भएको समयमा विद्यालयको कमान्डेन्ट रहेका हालका डीआईजी दिग्विजय सुवेदी पनि अनुसन्धानको दायरामा परेका छन् । अख्तियारको अनुसन्धान अघि बढेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई कैलालीस्थित बाहिनीपतिको जिम्मेवारीबाट हटाएको छ । यस प्रकरणमा तत्कालीन विद्यालय कमान्डेन्टहरू सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेमाथि पनि अनुसन्धान भइरहेको छ । सुवेदी हाल डीआईजी, केसी एसएसपी र पाण्डे एसपी छन् । अख्तियारले अहिलेसम्म एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ ।

इन्स्पेक्टर गुरुङले करिब ६ वर्षसम्म विद्यालयको लेखा अधिकृतका रूपमा काम गरेकी थिइन् । विद्यालयको आम्दानी कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रूपमा रकम निकालेर साथी लामालाई दिने गरेको अनुसन्धानबाट खुलेको छ । कतिपय रकम कनेक्ट आईपीएसमार्फत लामाको कम्पनीको खातामा पठाइएको थियो । बैंकलाई विद्यालयका कमान्डेन्टको सम्पर्क नम्बर भन्दै लामाकै नम्बर उपलब्ध गराएर कारोबार गरिएको समेत अनुसन्धानमा देखिएको छ ।

सशस्त्र प्रहरीको कल्याण शाखाले सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएपछि प्रहरीले गत असार २० गते गुरुङ र लामालाई पक्राउ गरेको थियो । पछि भ्रष्टाचारसम्बन्धी कसुर आकर्षित हुने निष्कर्षसहित प्रहरीले १० दिनपछि दुवैलाई अख्तियारमा बुझाएको थियो । अख्तियारले करिब दुई महिना हिरासतमा राखेर अनुसन्धान गरेपछि उनीहरूलाई साढे १३ करोड रुपैयाँ धरौटीमा रिहा गरेको स्रोतको भनाइ छ । रिहा भएका लामा अर्को ठगीसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा छन् । 

यसअघि सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको थियो । समितिले इन्स्पेक्टर गुरुङकै योजनामा रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो । सुरुमा रकम फिर्ता गर्न मौका दिइए पनि रकम फिर्ता हुन नसकेपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो ।

तर, एउटै लेखा अधिकृतले लगातार ६ वर्षसम्म काम गर्दा करिब ११ करोड रुपैयाँ हिनामिना हुनु र त्यसबारे विद्यालयको नेतृत्व तथा कल्याण शाखाका अधिकारीहरू बेखबर रहनु आफैँमा गम्भीर प्रश्न बनेको छ । प्रहरी स्रोतले पनि यति ठूलो रकम एक्लै हिनामिना गर्न सम्भव थियो कि थिएन भन्ने विषयमा आशंका व्यक्त गरेको छ ।अब अनुसन्धानको मुख्य प्रश्न रकम निकाल्ने कर्मचारीमा मात्र सीमित रहने कि विद्यालयको नेतृत्व, आर्थिक निगरानी गर्ने निकाय र कल्याण शाखाका जिम्मेवार अधिकारीसम्म पुग्ने भन्ने हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup