चितवन १८ कात्तिकः प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ । उहाँले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गर्नुभयो । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्