इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताउनुभएको छ । तर, अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उहाँले स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उहाँले राम र जोइन्ट लिस्टमा निर्भर सरकार इजरायली जनताले नचाहेको दाबी गर्नुभयो । आफ्नो लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्दै उहाँले अर्को सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त भएको बताउनुभयो ।
वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला इजरायल बेतेनुका नेता अभिग्डोर लिबरम्यानले नेतान्याहु नेतृत्वको गठबन्धनमा सहभागी नहुने बताउनुभएको छ । उहाँले याशर पार्टीका नेता गदी आइसेनकोटलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रपति आइज्याक हर्जोगसमक्ष सिफारिस गर्ने र नेसेट सभामुखमा यायर लापिडलाई समर्थन गर्ने जनाउनुभएको छ ।
लिबरम्यानले आइसेनकोटको चुनावी अभियानको आलोचना गर्दै विपक्षी समूहले अपेक्षाभन्दा कम ४८ सिट प्राप्त गरेको बताउनुभयो । उहाँले नेतान्याहुसँगको एकता सरकारमा कुनै पनि अवस्थामा सहभागी नहुने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको ‘बी याचड’ समूहले भने आइसेनकोटको सरकार गठन प्रयासलाई समर्थन गरेको छ ।
एक सय २० सदस्यीय नेसेटमा विपक्षी समूहले ६७ र वर्तमान गठबन्धनले ५३ सिट जितेका छन् । तर, अरब नेतृत्वका दलको समर्थनबिना विपक्षीलाई सरकार गठन गर्न कठिन देखिएको छ ।राष्ट्रपति हर्जोगले अर्को निर्वाचन रोक्न राजनीतिक दललाई लचकता अपनाउँदै सहमति खोज्न आग्रह गर्नुभएको छ । उहाँले नोभेम्बर ४ मा आधिकारिक निर्वाचन परिणाम प्राप्त गरेपछि दलका प्रतिनिधिसँग परामर्श गर्ने र नवनिर्वाचित नेसेट सदस्यहरूले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्