बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा दुई खर्ब लगानी थप गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले छिट्टै दुई खर्ब लगानी थप्ने प्रक्रिया अघि बढेको जानकारी गराएका हुन् । यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा अझ ठुलो लगानी ल्याउन र भएको लगानीलाई विस्तार गर्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई आह्वान गरेका थिए ।
‘अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिले छिट्टै नेपालमा दुई सय अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ सचिवालयले जारी गरेको व्यक्तव्यमा उल्लेख छ, ‘जलविद्युत्, पेन्ट उद्योग, होटेल र पेय पदार्थलगायतका उत्पादनमूलक क्षेत्रका विभिन्न परियोजनाहरूमा आफूहरूले लगानी विस्तारको प्रक्रिया अघि बढाएको कम्पनीका उच्च अधिकारीले अर्थमन्त्रीलाई जानकारी गराउनुभयो ।’
बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग अर्थमन्त्रीले उत्पादन, लगानी, नाफा र पुनर्लगानीको चक्रलाई तीव्र बनाउन आग्रह गरेका हुन् । ‘जब उद्योगले नाफा कमाउँछ, त्यही नाफा पुनर्लगानी हुन्छ । पुनर्लगानीले उत्पादन बढाउँछ । उत्पादनले रोजगारी सिर्जना गर्छ । रोजगारीले आम्दानी बढाउँछ । आम्दानीले बजार विस्तार गर्छ । अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ । त्यसैले सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन; दुवैको सफलता एक–अर्काको सफलतासँग जोडिएको छ,’ उद्योगी तथा व्यावसायिक संस्थाका नेतृत्वकर्तालाई अर्थमन्त्रीले भने, ‘आज म यहाँहरूलाई एउटा स्पष्ट आग्रह गर्न चाहन्छु । नेपालमा अझ ठुलो लगानी गर्नुहोस् । भएका उद्योग विस्तार गर्नुहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नुहोस् । नयाँ प्रविधि भित्र्याउनुहोस् । नयाँ रोजगारी सिर्जना गर्नुहोस् । सरकार तपाईँहरूको साथमा उभिनेछ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्