लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बर्सेनि एक करोड २० लाख बालविवाह

समाचार

बर्सेनि एक करोड २० लाख बालविवाह

यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले जनाएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बर्सेनि एक करोड २० लाख बालविवाह

काठमाडौँ, ११ मङ्सिरः आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी  अन्तरराष्ट्रिय दिवस हो ।  विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ ।

बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तरराष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले यस्तो आह्वान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो । विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ । प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा मनाइएको अन्तरराष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गर्नुभएको थियो ।

सन्देशमा उहाँले बालविवाहको मूल कारण गरिबी रहेको र द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने बताउनुभएको थियो । बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उहाँको सन्देशमा उल्लेख छ ।

महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ । यद्यपि, अहिलेको प्रगतिको गतिले बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उहाँले चेतावनी दिनुभएको छ । उहाँले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम र लगानी बढाउन आह्वान गर्नुभएको थियो ।

यसैगरी, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।बालविवाह मानवअधिकारको उल्लङ्घन भएको उल्लेख गर्दै उहाँले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक भएको उहाँको भनाइ थियो ।

विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने र बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय तथा समाधान प्रक्रियामा सहभागी गराउनुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ ।राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ । विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रमा रहेका छन ्। त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन् ।

पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ । यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ । यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ ।

बालविवाहले बालिकाको शिक्षा प्राप्त गर्ने अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत प्रतिकूल असर पार्छ । यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले जनाएको छ ।

दिगो विकास लक्ष्यको लक्ष्य नं ५.३ ले सन् २०३० सम्ममा बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ । तर, हालको प्रगतिको गति कायम रहे बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने छ ।राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि कानुनी सुधारसँगै गुणस्तरीय शिक्षामा बालिकाको पहुँच विस्तार, सामाजिक तथा आर्थिक सुरक्षा आवश्यक भएको बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup