काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी अघि सारेका छन्। उनको उम्मेदवारी केवल पार्टीको पद प्राप्तिका लागि नभई कांग्रेसलाई राजनीतिक स्वतन्त्रताको नेतृत्वबाट आर्थिक क्रान्तिको नेतृत्व गर्ने आधुनिक राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने उद्देश्यसँग जोडिएको बताइएको छ।
चौधरीले निराशातर्फ उन्मुख नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्न, युवालाई नेतृत्वको मूलधारमा स्थापित गर्न तथा राजनीतिको केन्द्रमा आर्थिक विकासका मुद्दालाई राख्न आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनको राजनीतिक एजेण्डामा राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउने, आर्थिक सुधारलाई तीव्रता दिने, युवाका लागि रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने तथा नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
चौधरीले नेपाली कांग्रेसको गौरवशाली राजनीतिक इतिहासलाई आर्थिक विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार कांग्रेसले विगतमा राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेझैँ अब आर्थिक क्रान्ति र समुन्नत नेपालको निर्माणको नेतृत्व गर्नुपर्ने समय आएको छ। उनले बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्णशमशेर जबराको आर्थिक विकाससम्बन्धी दृष्टिकोणलाई संयोजन गर्दै कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य अघि सारेका छन्। साथै, पार्टी सभापति गगनकुमार थापाले अघि सारेको ‘समुन्नत नेपाल’ निर्माणको सोचलाई व्यवहारमा कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धता रहेको बताएका छन्।
२०४८ को आर्थिक सुधारलाई नयाँ गतिमा अघि बढाउने योजना
चौधरीको उम्मेदवारीका प्रमुख आधारमध्ये कांग्रेस नेतृत्वको सरकारले २०४८ सालमा सुरु गरेको आर्थिक सुधार प्रक्रियालाई वर्तमान समयको आवश्यकता अनुसार पुनः गति दिने विषय पनि रहेको छ। उनले लामो समयदेखि अवरुद्ध आर्थिक सुधारलाई आधुनिक अर्थतन्त्र, प्रविधि र विश्वव्यापी लगानीको परिवेशअनुकूल अघि बढाउनुपर्ने धारणा राखेका छन्।
आर्थिक वृद्धिलाई तीव्र बनाउँदै निजी क्षेत्र, आन्तरिक लगानीकर्ता र वैदेशिक लगानीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने उनको जोड छ। नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीका लागि आकर्षण केन्द्र बनाउने, आन्तरिक लगानीकर्तालाई लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने र उद्योग व्यवसाय सञ्चालनमा रहेका अवरोध हटाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
युवाको एजेण्डा : रोजगारीदेखि एआईसम्म
चौधरीको राजनीतिक एजेण्डामा युवालाई विशेष प्राथमिकता दिइएको छ। हरेक वर्ष करिब साढे पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने अवस्थालाई अवसरका रूपमा लिएर देशमै रोजगारी सिर्जना गर्न सकिने वातावरण बनाउनुपर्ने उनको धारणा छ। विशेषगरी सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल अर्थतन्त्रसँग युवालाई जोड्दै नेपाललाई डिजिटल इकोनोमीतर्फ अघि बढाउने योजना उनले अघि सारेका छन्।
युवाको सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न पर्याप्त स्टार्टअप अवसर सिर्जना गर्ने, नयाँ व्यवसायलाई सहजीकरण गर्ने तथा युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने अवस्थामा पुर्याउने उनको लक्ष्य छ। पछिल्लो पुस्तामा देखिएको राजनीतिक असन्तुष्टि र परिवर्तनको चाहनालाई सम्बोधन गर्न जेन–जी मुभमेन्टको मर्मलाई आत्मसात् गर्दै युवाका आकांक्षालाई राजनीतिक एजेण्डाको केन्द्रमा राख्नुपर्ने चौधरीको धारणा छ।
समावेशी आर्थिक विकासमा जोड
चौधरीले आर्थिक विकासलाई केवल काठमाडौं वा ठूला शहरमा केन्द्रित नराखी प्रदेश र स्थानीय तहसम्म उद्योग, लगानी र रोजगारी विस्तार गर्नुपर्ने बताएका छन्।क्षेत्रीय आर्थिक असमानता घटाउन स्थानीय सम्भावनामा आधारित उद्योग स्थापना, रोजगारी सिर्जना र उत्पादन वृद्धि आवश्यक रहेको उनको जोड छ।त्यस्तै, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई आर्थिक अवसरसँग जोड्दै उद्यमशीलता, सीप विकास र वित्तीय पहुँचमार्फत आर्थिक सशक्तीकरण गर्ने विषयलाई पनि उनले आफ्नो उम्मेदवारीको महत्वपूर्ण एजेण्डा बनाएका छन्।
पुस्तान्तरणसँगै अनुभवी र युवा शक्तिको संयोजन
कांग्रेसभित्र पुस्तान्तरणलाई चौधरीले अर्को महत्वपूर्ण विषयका रूपमा अघि सारेका छन्। नयाँ पुस्ताको ऊर्जा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै आधुनिक कांग्रेस निर्माण गर्नुपर्ने उनको धारणा छ। उनका अनुसार पुस्तान्तरण भनेको पुरानो पुस्तालाई विस्थापित गर्नु मात्र नभई पुस्ताबीच सहकार्य, अनुभवको हस्तान्तरण र नयाँ पुस्ताको ऊर्जालाई एकै ठाउँमा जोड्ने प्रक्रिया हुनुपर्छ।यससँगै पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, पारदर्शिता कायम गर्ने, कार्यकर्ताको सम्मान बढाउने तथा नागरिकप्रति पार्टीलाई थप जवाफदेही बनाउने प्रतिबद्धता पनि उनले अघि सारेका छन्।
कांग्रेसलाई प्रविधियुक्त आधुनिक पार्टी बनाउने लक्ष्य
चौधरीले बदलिँदो विश्व परिवेशअनुसार नेपाली कांग्रेसको संगठनात्मक संरचना र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्। डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै कांग्रेसलाई आधुनिक, प्रविधियुक्त र समयअनुकूल राजनीतिक पार्टीका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ। सूचना प्रविधि र डिजिटल प्लेटफर्मलाई पार्टी संगठन, नागरिकसँगको संवाद तथा नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने उनको धारणा छ।
भ्रष्टाचार अन्त्य र सुशासनमा जोड
आर्थिक विकासका लागि सुशासन र पारदर्शिता अपरिहार्य रहेको भन्दै चौधरीले भ्रष्टाचार अन्त्यलाई पनि आफ्नो राजनीतिक एजेण्डाको महत्वपूर्ण हिस्सा बनाएका छन्।उनले लगानीको वातावरण निर्माणदेखि सार्वजनिक सेवा प्रवाहसम्म सुशासन कायम गर्नुपर्ने र नागरिकमा राज्य तथा राजनीतिक दलप्रतिको विश्वास पुनःस्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
समग्रमा चौधरीको उम्मेदवारीले कांग्रेसभित्र राजनीतिक एजेण्डासँग आर्थिक विकास, युवा नेतृत्व, प्रविधि, उद्यमशीलता र पुस्तान्तरणलाई जोड्ने प्रयासका रूपमा अर्थ राख्ने देखिन्छ।कांग्रेसले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै अब आर्थिक समृद्धिको नेतृत्व गर्ने पार्टीका रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने उनको प्रस्ताव छ। यही उद्देश्यसहित आफूले समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी अघि सारेको चौधरीको दाबी छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्