नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको "Leadership Excellence Awards 2026" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। "Everest Year – Clouds and Beyond" मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।
कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, सञ्चालक श्री विमल प्रसाद ढकाल, सञ्चालक श्री प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभउद्घाटन गर्नुभयो। सञ्चालक श्री अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताउँदै, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income – FPI) संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिनुभयो।
उहाँले यसलाई अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकहरूको विश्वास र परिश्रमको प्रतिफल भनी उल्लेख गर्दै आ.ब. २०८३/८४ का लागि "Everest Year – Clouds and Beyond" अभियान रहेको जनाउँदै कम्पनीको भावी यात्राको मार्गचित्र प्रस्तुत गर्नुभयो। सञ्चालक श्री ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा AML/CFT प्रावधानहरूको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई आग्रह गर्नुभयो, र कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको औँल्याउनुभयो।
प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा डिजिटल रूपान्तरण (Digital Transformation) लाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग, ग्राहकमैत्री डिजिटल सेवा, Data-आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालन (Automation) मार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना सार्वजनिक गर्नुभयो। प्रविधिसँगै दक्ष जनशक्ति र नवप्रवर्तनलाई अघि बढाउँदै नेपाल लाइफलाई सशक्त, आधुनिक र ग्राहककेन्द्रित संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उहाँले दोहोर्याउनुभयो।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो। साथै, उत्कृष्ट व्यावसायिक उपलब्धिका आधारमा नेपालभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरियो। यस कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भए। सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने थप उत्साह र प्रतिबद्धता व्यक्त गरे।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवशाली यात्रा पूरा गर्दै विश्वास, वित्तीय सुदृढता, उत्कृष्ट सेवा र संस्थागत नेतृत्वका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यस अवधिमा कम्पनीको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ भने मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम रहेको छ। कम्पनीले हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरिसकेको छ र कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीले नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेर राष्ट्रिय अर्थतन्त्र तथा राजस्वमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ। यी तथ्यांकहरूले नेपाल लाइफप्रति लाखौं नेपालीले व्यक्त गरेको विश्वास, कम्पनीको वित्तीय सबलता तथा नेपाली जीवन बीमा क्षेत्रमा कायम रहेको नेतृत्वलाई थप पुष्टि गरेका छन्।
"Everest Year – Clouds and Beyond" अभियानमार्फत नेपाल लाइफले विगत २५ वर्षका उपलब्धिलाई केवल गौरवका रूपमा मात्र नभई आगामी यात्राका लागि थप उचाइ हासिल गर्ने आधारका रूपमा आत्मसात गरेको छ। ग्राहकको विश्वास, प्रविधि र नवप्रवर्तन, उत्कृष्ट सेवा तथा व्यावसायिक सुशासनलाई केन्द्रमा राख्दै कम्पनीले आगामी दिनमा अझ ठूला उपलब्धि, नयाँ कीर्तिमान र उत्कृष्टताको निरन्तर यात्राप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्