लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री

राजनीति

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री

प्रधानमन्त्री शाहले पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री

काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ । आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिनुहुँदै उहाँले उक्त भनाइ राख्नुभएको हो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उहाँले उल्लेख गर्नुभएको छ । “आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्हः पूजा’ को मर्म अति गहिरो छ; ‘म्हः’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ”, उहाँले उल्लेख गर्नुभएको छ । 

यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुख्र्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको  र यो हाम्रा लागि गौरवको विषय भएको उहाँको भनाइ छ ।आजैका दिन भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।

“त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ”, उहाँले भन्नुभएको छ, “हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् ।”प्रधानमन्त्री शाहले पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना पनि व्यक्त गर्नुभएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup