लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

समाचार

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी, २१ असोजः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढेको हो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

“अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किँदा बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ”, उहाँले भन्नुभयो, “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरे पनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षणको विकल्प छैन ।”साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन । कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किन्छन् । ह्युम पाइप राखिएको ठाउँमा बाढी आएर बगाउने जोखिम पनि उत्तिकै छ । 

बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चाप पनि यो सडकमा छ । गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा कालोपत्र डिलदेखि कुनासम्मै सडकको पूरै भाग भत्किएको छ ।

सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनारदेखि पक्की पर्खाल उठाएर सडकलाई पुनर्निमाण गर्नुपर्ने कार्यालय प्रमुख उलकले बताउनुभयो । डिलतिर ठाउँ छैन, भित्ता काटेर सडक बनाउँदा बस्तीलाई जोखिम हुन्छ । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब १४० घरपरिवारको बसोबास रहेको दुखुबेँसी गाउँलाई जोखिम बनाएको बताउनुभयो ।

कटान रोकथाम, सडक सञ्चालन र बस्ती संरक्षणको काम गर्नुपर्ने दुखुबेँसीका बासिन्दाको भनाइ छ । बेनी–दरवाङ सडकको पछिल्लोपटक चुनौती बनेको बालौटे खण्डको सडक पुनर्निर्माणको काम अघि बढाउन मङ्गलबार म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँको टोलीले निरीक्षण गर्नुभयो ।

सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुनर्निर्माण, कटान नियन्त्रण र बस्ती संरक्षणको कामलाई समानान्तर रुपमा अघि बढाउन प्रस्ताव गर्नुभयो । तत्काल बस्तीलाई असर नपुग्ने गरी सडक पुनर्निर्माण गरी दसँैअघि सवारी सञ्चालन गर्ने र आगामी बर्खाअघि नै नदी नियन्त्रण गर्नुपर्ने जुग्जालीले बताउनुभयो । 

सचिव शर्माले पूर्वाधार विकास कार्यालयले सडक मर्मत शीर्षकको मौजुदा र अख्तियारीप्राप्त भएको बजेटमार्फत ग्यावियन जाली खरिद र मजदुरको ज्यालाको व्यवस्थासँगै थप बजेटको प्रक्रिया अघि बढाउने, मन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने र छिटो काम गर्नका लागि जलविद्युत् आयोजनाहरूका उपकरण परिचालन गर्ने समझदारी बनेको बताउनुभयो ।

मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनालाई पनि तत्काल मर्मत गरी सञ्चालनका लागि बजेटको अभाव हुन नदिने र कतिपय जिल्लामा काम भइरहेको सचिव शर्माले बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup