काठमाडौँ, १३ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ ।
प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तरराष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ । सोही प्रावधानअनुसार श्रीलङ्का सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलङ्का नवौँ तथा नेपाल १४औँ स्थानमा छन् ।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अङ्क बाँड्नु परेपछि नेपाल समूहबाट अघि बढेको थियो ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्