लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

१६ अर्ब ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार, सीआईबीको खोजी तीव्र

समाचार

१६ अर्ब ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार, सीआईबीको खोजी तीव्र

न्युज बिहानी
न्युज बिहानी
Shares
१६ अर्ब ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार, सीआईबीको खोजी तीव्र

काठमाडौं । मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि गैरकानुनी रूपमा रकम असुली गरी अर्बौँ रुपैयाँ विदेश पठाउने प्रकरणमा अनुसन्धानको घेरामा परेका तत्कालीन श्रमसचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्याल भारततिर फरार भएको आरोप लागेको छ। दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ पूर्वप्रशासक पक्राउ परेपछि अर्याल भारततिर भागेको दाबी गरिएको हो। १६ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ठगी तथा विदेशी मुद्रा अपचलनसँग जोडिएको यस प्रकरणमा अर्यालको नामसमेत जोडिएपछि अनुसन्धान थप पेचिलो बनेको छ।

उच्च स्रोतका अनुसार उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खोजी तीव्र पारे पनि उनी अझै फेला परेका छैनन्। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा अर्यालले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीपत्र (एमओयू) विपरीत नेपाली श्रमिकसँग अतिरिक्त शुल्क असुल्ने र संकलित रकम गैरकानुनी माध्यमबाट मलेसिया पठाउने निर्णय प्रक्रियामा भूमिका खेलेको आरोप छ।

श्रमिकको पसिनाबाट आर्जित रकममाथि खुलेआम लुट मच्चाउने संगठित समूहलाई प्रशासनिक संरक्षण दिएको र गैरकानुनी रकम विदेश पठाउने प्रक्रियामा नीतिगत तथा प्रशासनिक निर्णयमार्फत सहयोग पुर्‍याएको आशंकामा उनी अनुसन्धानको घेरामा परेका हुन्। यस प्रकरणमा सीआईबीले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङलाई पक्राउ गरिसकेको छ।

उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरू पक्राउ परेपछि तत्कालीन निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धानको दबाब बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार संगठित समूहको आर्थिक स्वार्थका लागि नेपाली श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नखोजेको तथा अधिकार क्षेत्र नाघेर ठूलो परिमाणमा विदेशी मुद्रा मलेसिया पठाउन स्वीकृति दिएको आरोप पक्राउ परेकाहरूमाथि छ।

अनुसन्धानमा उल्लेख भएअनुसार ८ करोड ३७ लाख ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३ करोड ७१ लाख ९८ हजार ९८० पाउन्ड ८० पेन्स गरी कुल १६ अर्ब ९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेश पठाइएको विषय अनुसन्धानको केन्द्रमा छ। पक्राउ परेका ६ जनामाथि ठगी, विदेशी मुद्रा अपचलन तथा संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनीहरूको बयान, निर्णय प्रक्रियामा संलग्न अधिकारीहरूको भूमिका र विदेश पठाइएको रकमको स्रोत तथा गन्तव्यबारे अनुसन्धान भइरहेको बताइएको छ।

यता, फरार भनिएका पूर्वमुख्यसचिव अर्यालको खोजीका लागि सीआईबीले सम्भावित स्थानहरूमा निगरानी बढाएको छ। देशभरका सुरक्षा निकाय तथा सीमा नाकाहरूमा समेत सतर्कता बढाइएको जनाइएको छ। श्रमिकको नाममा रोजगारीको अवसर बेचेर अर्बौँ रकम विदेश पठाइएको भनिएको प्रकरणमा मन्त्रीदेखि सचिवसम्म अनुसन्धानको घेरामा पर्दा प्रशासनिक निर्णयको सर्वोच्च तहमा पुगेका व्यक्तिसम्मको भूमिका अब छानबिनको विषय बनेको छ। प्रश्न केवल कसले रकम पठायो भन्ने होइन, श्रमिकमाथिको कथित लुटलाई नीतिगत निर्णयको आवरण कसले दियो र त्यसबाट कसले लाभ लियो भन्ने पनि हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup