साढे सात वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेपछि सिंहदरबारस्थित पुतली बगैँचाको संघीय संसद् भवनको निर्माण म्याद सातौँपटक थपिने भएको छ । सार्वजनिक खरिद ऐनको १५औँ संशोधनपछि म्याद थपको बाटो खुलेसँगै निर्माण कम्पनी तुँदी–सेक जेभीलाई थप समय दिन लागिएको सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताए ।
‘१५औँ संशोधनपछि म्याद थप गर्न सकिने भएको छ । संशोधनअनुसार एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था छ । कामको प्रकृति र प्रगतिका आधारमा थप गर्नुपर्ने समय निर्धारण गरिनेछ,’ श्रेष्ठले बताए । निर्माणको ढिलाइका कारण यसअघि छैटौँपटक थपिएको म्याद पनि गत जेठमा सकिएको थियो ।
त्यसअघि पाँचौँपटक थपिएको म्याद गत वर्ष १६ पुसमा सकिएपछि ९० दिनका लागि म्याद थप भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यका साथ १ असोज ०७६ मा शिलाल्यान्स भएको संघीय संसद् भवनमा अहिले अस्थायी रूपमा प्रतिनिधिसभा र राष्ट्रिय सभा चलिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्