लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

अर्थतन्त्र

साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

न्युज बिहानी
न्युज बिहानी
Shares
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा, ७ भदौः लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको  हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य यही थियो । जीर्ण देखिएका मेसिन नियाल्दा उहाँका आँसु झरे । तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ ।“हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो”, अमात्यले भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ ।”

सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेपछि अमात्य काठमाडौँबाट हेटौँडा आउनुभएको हो । आफ्नै कपडा उद्योग सञ्चालन गर्दै आउनुभएका उहाँ सरकारी उद्योग पुनः सञ्चालनमा योगदान गर्न प्राविधिक टोलीसहित यहाँ खटिनुभएको छ । अहिले उद्योगका १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ । तीमध्ये तीन वटालाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ ।

पुराना लुममा नयाँ प्रविधि जडान भएपछि उत्पादन उल्लेख्य बढेको छ । पहिले एउटा लुमबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाएपछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म उत्पादन हुन थालेको प्राविधिक रमेशबहादुर भट्टराईले जानकारी दिनुभयो । दाङको तुलसीपुरमा साडी उत्पादनसम्बन्धी काम गर्दै आउनुभएका भट्टराईलाई मेसिन मर्मतका लागि बोलाइएको थियो । उहाँसहितको टोलीले सुरुमा तीन–चार दिन मेसिनको अवस्था अध्ययन गरी आवश्यक सुधारबारे परामर्श गरेको थियो । त्यसपछि पुराना लुमका पार्टपुर्जा परिवर्तन गर्दै स्वचालित प्रणालीमा रूपान्तरण गर्ने काम सुरु भयो ।

लुमलाई स्वचालित बनाउने क्रममा डबी, स्लेवार्ड, ब्रेक र क्लचलगायत उपकरण परिवर्तन गरिएको छ । लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना राम्रो अवस्थामा रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “मेसिनका पार्टपुर्जा बिग्रिन्छन्, तिनलाई फेर्न मिल्छ । यहाँ आएर देशको सेवा गर्न पाउँदा खुसी लागेको छ ।”

पुराना ‘सटल लुम’का केही पार्टपुर्जा पाउन भने कठिन छ । लामो समयअघि बनेका ती मेसिनको उत्पादन चीनलेसमेत बन्द गरिसकेको प्राविधिकको भनाइ छ । तर तिनलाई र्यापियर प्रविधि अर्थात् बिना साटल चल्ने आधुनिक बुनाइ मेसिनमा रूपान्तरण गरी स्वचालित रूपमा सञ्चालन गर्न सकिने अमात्यले बताउनुभयो । त्यसका लागि आवश्यक सामग्री काठमाडौँ र ललितपुरका आपूर्तिकर्तामार्फत चीन तथा ताइवानबाट ल्याउन सकिने उहाँ बताउनुहुन्छ ।

स्वचालित लुम सञ्चालन गर्दा कम जनशक्तिबाट बढी उत्पादन गर्न सकिन्छ । उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडासहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ । सरकारले गत असार १८ गते उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको जिम्मेवारी दिएको हो । परीक्षण उत्पादनका लागि ३३ लाख उपलब्ध गराइएको छ । हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मर्मतसम्भारको प्रगतिबारे जानकारी लिनुभयो । अनुगमन उहाँले २० वटा लुम सञ्चालनका लागि तयार पारिएको र तीमध्ये १० वटा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो  । त्यसका लागि सरकारले रु ३३ लाख उपलब्ध गराएको र बाँकी मेसिन पनि क्रमशः सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

परीक्षण उत्पादनका लागि आवश्यक कच्चापदार्थ हाल स्वदेशी रिलायन्स उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो । स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न कृषकलाई कपासखेती गर्न आग्रह गरिएको उल्लेख गर्दै उहाँले कृषकले उत्पादन गरेको कपास खरिद गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ भदौ ३० गते कम्पनी दर्ता गरिएको उद्योगको सोही वर्ष पुसमा शिलान्यास भएको थियो । विसं २०३५ कात्तिकदेखि परीक्षण उत्पादन थालेको उद्योगको विसं २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगमा करिब एक हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

राजनीतिक हस्तक्षेप, बारम्बारका बन्द–हडताल, व्यवस्थापकीय कमजोरी, पुरानो प्रविधि र बढ्दो आर्थिक घाटाका कारण उद्योग सङ्कटमा पर्दै गएको थियो । अन्ततः विसं २०५७ देखि उद्योग पूर्ण रूपमा बन्द रह्यो । अहिले पुराना लुमबाट कपडा निस्कन थालेसँगै उद्योग पुनर्जीवनको आशा पलाएको छ । पूर्ण क्षमतामा सञ्चालन गर्न अझै लगानी, कच्चापदार्थ, बजार र दिगो व्यवस्थापनको आवश्यकता छ । प्राविधिक भट्टराईले भनेजस्तै पार्टपुर्जा फेरेर मेसिन फेरि चल्न सक्छन् । अब उद्योगको भविष्य सरकारले देखाउने निरन्तरता र व्यवस्थापकीय क्षमतामा निर्भर हुनेछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।