लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

अर्थतन्त्र

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ, २८ भदौः नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । 

शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको भनाइ छ । प्रमुख चुडालका अनुसार शुक्रबारमात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् । रसुवागढीनाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उहाँले बताउनुभयो ।

चालु आव २०८३÷८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागिमात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढीनाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२÷८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोडको राजस्व सङ्कलन गरेको थियो ।

त्यस वर्ष पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाखबराबरको मालवस्तुको कारोबार भएको थियो ।  गत वर्ष कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र  एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup