काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कबि फुयाँललाई सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा नियुक्त गर्दै कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिएको छ। कम्पनीको नेतृत्वमा आएका फुयाँलले असोज १३ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी सम्हालेका हुन्। कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले फुयाँललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। अर्को व्यवस्था नभएसम्म उनले कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्नेछन्।
यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत फुयाँलले त्यहाँबाट राजीनामा दिएपछि हिमालयन लाइफको नेतृत्व सम्हाल्न पुगेका हुन्। कानुनी प्रक्रियासँग सम्बन्धित केही विषयका कारण उनलाई तत्काल पूर्णकालीन सीईओको जिम्मेवारी दिन नसकिएको बताइएको छ। यद्यपि, आगामी दिनमा कम्पनीको नेतृत्वमा निरन्तरता पाउन सक्ने सम्भावनाका बीच उनलाई कामु सीईओको जिम्मेवारी दिइएको हो।
बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका फुयाँलले आफ्नो व्यावसायिक यात्रा लक्ष्मी बैंकबाट सुरु गरेका थिए। त्यसपछि उनले राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्समा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्। फुयाँलले सिटिजन लाइफ इन्स्योरेन्समा मुख्य बजारीकरण अधिकृत (सीएमओ) का रूपमा काम गर्दै बजार रणनीति तथा व्यवसाय विस्तारको अनुभव हासिल गरेका थिए।
त्यसपछि उनी आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका थिए। उनले उक्त कम्पनीको नेतृत्वमा चार वर्ष बिताएका थिए। आइएमई लाइफपछि सन नेपाल लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका उनी अब हिमालयन लाइफको व्यवस्थापकीय नेतृत्वमा पुगेका हुन्। व्यवसाय विस्तार, बजार रणनीति निर्माण, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र संस्थागत व्यवस्थापनमा अनुभव हासिल गरेका फुयाँलको नियुक्तिलाई हिमालयन लाइफको आगामी व्यावसायिक रणनीतिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
जीवन बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, व्यवसाय विस्तारको चुनौती र प्रभावकारी व्यवस्थापनको आवश्यकताबीच फुयाँलको अनुभवलाई कम्पनीले कसरी उपयोग गर्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ। उनको नेतृत्वमा हिमालयन लाइफले बजार उपस्थिति विस्तार, अभिकर्ता सञ्जालको प्रभावकारिता वृद्धि, व्यवसायको गुणस्तर सुधार तथा संस्थागत कार्यसम्पादनलाई कस्तो गति दिन्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुँदै जानेछ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्