बागलुङ, १३ असोजः बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिनुभयो ।
पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उहाँले बताउनुभयो । जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने विपद् परी एक जना बेपत्ता हुनुभएको छ । शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्