शुक्रबार, ४ बैशाख २०८३
जेन–जी विद्रोहपछि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्वमा परिवर्तन गर्दै चुनावमा होमिए पनि अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले यसपटक ठुलो धक्का व्यहोर्नुपरेको छ । ०७९ को निर्वाचनमा ८८ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बनेको कांग्रेस अहिलेसम्मको मतगणनाअनुसार दोस्रो स्थानका लागि संघर्षरत छ । तर, जारी मतगणनामा रास्वपाभन्दा निकै पछि परेको छ । सभापतिसहितका पदाधिकारी र अधिकांश ठुला नेताहरू निर्वाचनमा पछारिएका छन् ।विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगनकुमार थापा सर्लाही ४ मा पछाडि छन् । अन्य स्थापित नेताहरूले पनि पराजय भोगेका छन् । निर्वाचन परिणामलाई लिएर कांग्रेसका शीर्ष नेतासमेत आफ्नै क्षेत्रमा कठिन प्रतिस्पर्धामा परेपछि पार्टीभित्र गहिरो समीक्षा आवश्यक भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । विश्लेषकहरूले भने नतिजा अनपेक्षित नरहेको र पुनर्जीवनका लागि कांग्रेसको रूपान्तरण जरुरी रहेको टिप्पणी गरेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिणाम पार्टीका लागि अनुकूल नभएको स्वीकार गर्दै यसको समीक्षा गरिने बताएका छन् । ‘निर्वाचन परिणाम कांग्रेसको अनुकूल भएन । यो अनपेक्षित वा अप्रत्याशित भने होइन । चाँडै केन्द्रीय कार्यसमिति बैठक बसेर समीक्षा गर्नेछौँ,’ शुक्रबार भिडियो सन्देश जारी गर्दै शर्माले पराजय स्वीकार गरेका छन् । उनी आफू भने निर्वाचन लडेका थिएनन् । विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गरिए पनि चुनाव हुनुअघि करिब ५० दिन मात्रै समय भएकाले मतदातासम्म नयाँ सन्देश प्रभावकारी रूपमा पुर्याउन नसक्दा पनि निर्वाचन परिणाममा असर परेको उनको भनाइ छ । ‘समाजको समस्या केलाएर तयार गरेको दस्ताबेज आमनागरिकसमक्ष सम्प्रेषण गर्न सकिएन । लोकप्रियवादलाई चिर्न सकिएन । जेन–जी विद्रोहपछि समग्रतामा दलसहित सबै क्षेत्रमा परिवर्तन हुनुपर्छ भन्ने आमअपेक्षा थियो,’ शर्माले भने, ‘नेपाली कांग्रेसले परिवर्तनको त सुरुवात गर्यो, तर राम्रोसँग सम्प्रेषण गर्न सकेन । हामीले आफूलाई बदल्ने संकल्प गर्यौँ, बदल्यौँ । तर, नागरिक पंक्तिमा यो सन्देश पुर्याउन सकेनौँ ।’
उनका अनुसार ०७९ को स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीजस्ता सहरमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा मतदाताले दिएको सन्देश कांग्रेसले गम्भीर रूपमा लिन सकेन । त्यस्तै, अघिल्लो संसदीय निर्वाचनमा रास्वपाले २१ सिट जित्नु पनि परिवर्तनको संकेत भएको उनले बताए । ‘अघिल्लोपटक निर्वाचनबाट पहिलो दल बन्यौँ । हामीले कि सरकारको नेतृत्व गर्नुपर्थ्यो, कि पूरै समय विपक्षमा बस्नुपर्थ्यो । त्यहाँ पनि चुक्यौँ । सरकारको गति कायम गराउन पनि सकिएन,’ शर्माले भने, ‘आमजनतामा असन्तुष्टि, निराशा र प्रश्नहरू थिए, त्यसले देशलाई विद्रोहमा लग्यो । विद्रोहपछि पनि अपेक्षित रूपमा बदलिने दिशामा प्रवेश गरेनौँ ।’उनले निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पनि यसको जिम्मेवारी लिनुपर्ने संकेत गरे । देउवाले कांग्रेसको पक्षमा मतदान गर्न अपिल पनि गरेनन्, उनी मतदानमा पनि सहभागी भएनन् । चुनावका वेला उनी उपचारका लागि सिंगापुरमा थिए । शर्माले पार्टीको पराजयका कारण आन्तरिक कमजोरी र बाह्य परिस्थितिसमेत रहेको उल्लेख गर्दै गहिरो समीक्षा गरिने बताएका छन् । उनले विशेष महाविधेशनपछिको कमजोरीले मात्रै पार्टी पराजित नभएको जिकिर गर्दै ०७०, ०७४, ०७९ को चुनाव, त्यसपछि सरकार सञ्चालन र पार्टी सञ्चालनका कमजोरीबारे समीक्षा गर्ने बताएका छन् ।
राजनीतिशास्त्री प्रा लोकराज बरालले अहिलेको निर्वाचन माहोल हेर्दा नै अहिलेको नतिजा अनुमान गर्न सकिएको बताए । तर, चुनाव हार्दैमा कांग्रेसको सान्दर्भिकता भने नसकिएको उनको भनाइ छ । ‘यसपालि निर्वाचनको माहोल हेर्दा कांग्रेसको परिणाम यस्तो हुने नै थियो । ०४८ को चुनावपछि कांग्रेसका नेतृत्वले गरेको अनेक प्रयोग (मध्यावधिदेखि राजा ज्ञानेन्द्रसँग लागेर संकटकालीन लगाउनेदेखि पार्टी फुटसम्म), अनेक गठबन्धन र सेवाप्रवाहमा कमजोरी, भ्रष्टाचारलगायत कारण जनता रिसाएका थिए । जनताले विकल्प खोजेका रहेछन्, निर्णय गरे,’ उनले भने, ‘अहिलेको चुनावी परिणामले कांग्रेस पार्टीको सान्दर्भिकता समाप्त भएको छैन । अहिलेको पराजयको कारण गगन वा विश्वप्रकाश शर्मा होइन, पुराना ब्यागेजहरू थिए, जसका कारण कांग्रेसको यो हालत भएको हो । बरु नयाँ नेतृत्वले ‘ड्यामेज कन्ट्रोल’ गर्न खोजेको हो, तर सकेन । शेरबहादुर देउवा नेतृत्वमा थिए भने पनि पहिरो रोकिनेवाला थिएन ।’
यस्तै, अर्का राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले अहिलेको अभिमत अस्थायी रहेको र अब सभापति गगन थापाले राजीनामा दिएर उनकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गनुपर्ने बताए । ‘कांग्रेसको यो आवधिक खुम्च्याइ हो । अहिलेको अभिमत स्थायी होइन । विगतका असफल आर्थिक नीति, परराष्ट्र नीति सञ्चालनमा वामपन्थी आवेगमा कांग्रेस पर्यो । अन्तर्राष्ट्रिय प्रजातान्त्रिक कित्ताका मित्रशक्तिलाई पनि कांग्रेसले बदलिएको प्रत्याभूति दिन सकेन,’ उनले भने, ‘लामो समयदेखि राजनीतिक दृश्यपटलमा रहेका नेताहरूप्रति जनताको दृष्टिथकान पुष्टि भयो । यसमा कांग्रेसले आफूलाई सच्याउनुपर्छ । अब सभापति गगन थापाले राजीनामा दिएर उनकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्छ र असारमा नियमित महाधिवेशन गराउनुपर्छ । बचेखुचेका ‘ब्यागेज’हरू छाडेर कांग्रेस रूपान्तरणमा जानुपर्छ । आफूलाई रूपान्तरित गरेपछि कांग्रेसले फेरि पुनर्जीवन प्राप्त गर्छ । कार्यकर्तामा आधारित होइन, अब मास बेस मत निर्माणमा कांग्रेसले आफूलाई रूपान्तरित गर्नुपर्छ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।