बुधबार, १३ साउन २०८३
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुग्नुभएको छ। घटनालगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गर्नुभएको हो।
मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिनुभएको छ। उहाँले उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो।
घाइते तथा उनीहरूका परिवारसँग भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितहरूको उपचार र सुरक्षामा संवेदनशील रहेको बताउँदै आवश्य सहजीकरण गर्ने बताउनुभएको छ।
गम्भीर घाइतेहरूको उपचारमा मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले सम्बन्धित अस्पताल,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको छ।