बुधबार, ९ बैशाख २०८३
काठमाडौं । सम्पत्ति शुद्धीकरण, संगठित अपराध र धितोपत्रसम्बन्धी अपराधबाट जोगिन र आफूविरुद्ध जारी अनुसन्धान प्रभावित पार्न नेपालका चर्चित व्यापारिक घरानाहरूले गृहमन्त्री सुधन गुरुङविरुद्ध एकपछि अर्को नियोजित आक्रमण थालेको पाइएको छ । सरकारले सम्पत्ति शुद्धीकरण, संगठित अपराध र धितोपत्रसम्बन्धी कसुरमा चर्चित व्यवसायी शेखर गोल्छासहित विभिन्न १२ जना व्यवसायी र व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । नेपाल धितोपत्र बोर्डको सिफारिस, नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत अनुसन्धानबाट सेयरलगायतका कारोबारमार्फत अपराध गरेको अभियोगमा सरकारले व्यवसायीहरूमाथि कडा निगरानी थालेको थियो । धितोपत्र कारोबार ऐनविपरीत सेयर कारोबार गरेको, अवैध सम्पत्तिलाई वैध बनाउन संगठितरूपमा एकआपसमा ठूलो रकमको कारोबार गरेकोलगायतका प्रमाण भेटिएपछि प्रहरीले हिमालयन रिका मुख्य सेयरधनीसमेत रहेका बिचौलिया व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनीहरूको बयान, प्रहरीको अनुसन्धान र धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका २ वटा प्रतिवेदनका आधारमा प्रहरीले चर्चित व्यवसायी शेखर गोल्छासहितका अन्य ११ व्यवसायी र उद्योग सञ्चालकलाई पक्राउको तयारी गरिरहेको छ । प्रहरी उच्च स्रो ेतका अनुसार गोल्छासहित प्रहरी हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, क्रेष्ट माइक्रोलाइफ इन्स्युरेन्सका पूर्वअध्यक्ष ऋषिराज मोर, रमेश कर्पका संचालक रोहिता गुप्ता र भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचानलाई अनुसन्धानका लागि पक्राउ गर्ने तयारी छ । गुप्ताको रमेश कर्पअन्तर्गत बै ंकिङ, सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत, बैंकिङ, ई–कमर्श र इन्स्योरेन्स, रियल स्टेटदेखि खेलकुद र सूचना प्रविधि लगायतका २० वटा भन्दा बढी उद्योग र व्यापार सञ्चालनमा छन् । प्रहरीले हिमालयन रि–इन्स्युरेन्स, हिमालयन क्यापसर्व लिमिटेड, हिमालय सेक्युरिटिज बै ंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरूलाई पनि पक्राउ गरी अनुसन्धान थाल्ने तयारी गरिरहेको छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीबाट सुरु भएको आर्थिक अनियमितताबाट बच्न राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीले अभियोगबाट बच्न यसअघि अर्थमन्त्रीलाई समेत प्रभावमा परेका थिए । उनीहरूकै प्रभावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबार गरेकै आधारमा कसैमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा नचलाइने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए ।अर्थमन्त्रीलाई समेत प्रभावमा पारेका व्यवसायीमाथि गम्भीर अनुसन्धान गर्ने अडानसहित अनुसन्धान प्रक्रिया अघि बढाउन गृहमन्त्री गुरुङले सक्रियता देखाएका थिए । व्यवसायीहरूले कारबाहीबाट जोगिन र विषयान्तर गर्न अर्थमन्त्रीविरुद्ध स्वार्थको द्वन्द्वसम्बन्धी विवाद सतहमा ल्याएको देखिएको हो । निजी क्षेत्रका हिमालयन रि–इन्स्योरेन्समा सबैभन्दा बढी सेयर लगानी रहेका विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान सुरु भएपछि हिमालयन रिका अध्यक्ष शेखर गोल्छा र सञ्चालकद्वय साहिल अग्रवाल र रोहित गुप्ताले राजीनामा दिइसकेका छन् ।
गुरुङलाई प्रभावमा पार्न नसकेका व्यवसायीहरूले यसअघि अर्थमन्त्री वाग्लेलाई भेटेर आफूमाथि अनुसन्धान भए निजी क्षेत्रको लगानी धराशायी हुने, बैंकहरूले निजी क्षेत्रमा गरेको लगानी डुब्नेलगायतका तथ्यांक देखाएर ‘व्लाकमेलिङ’ गरेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । गोल्छाले छाडेपछि अहिले हिमालयन रिको अध्यक्षमा अर्का लगानीकर्ता उदयकुमार निरौलालाई मनोनीत गरिएको छ भने सञ्चालकमा शाहिल अग्रवालको स्थानमा दीपेन्द्रकुमार मिश्र र सञ्चालक रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापालाई मनोनीत गरिएको छ ।हिमालयन रि–इन्स्योरेन्सको झन्डै पौने ३ अर्ब रकम हिनामिनाको विषयमा नेपाल धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले गत ३ वैशाखमा बोर्डलाई प्रतिवेदन बुझाइसकेको छ । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाहलगायत व्यवसायीले सेयर कारोबारमा बदमासी गरेको भन्दै समितिले प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरीसमक्ष पठाउन सिफारिस गरिसकेको छ । आजको राजधानी दैनिकमा समाचार छ।