मङ्गलबार, ८ बैशाख २०८३
नुवाकोट । मरिचमान सिंहको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्मा मन्त्री बनेका जितसिंह खड्काले प्रथमपटक सम्भाव्यता अध्ययनका लागि ६० हजार रुपैयाँ बजेट विनियोजन गरी थालिएको नुवाकोटको दीर्घकालीन र महत्वाकांक्षी ड्वाचे खानेपानी आयोजना आजसम्म पनि अधुरै छ । ड्वाचे खानेपानी आयोजनाको ढिलासुस्ती, अपूर्ण कार्यले समस्यामा परेका स्थानीयहरू आक्रोसित बनेका छन् । चुनावमा जुन नेता आएपनि यहि खानेपानी आयोजना बनाउने भन्दै भोट बटुल्ने गरेको उनीहरुको आरोप छ।
नुवाकोट जिल्लाको लच्याङ मुहानबाट नुवाकोट दरबार, विदुर–बट्टार,लिखु र तादी क्षेत्रसम्म खानेपानी आपूर्ति गर्ने उद्देश्यसहित सुरु गरिएको ड्वाचे खानेपानी आयोजना दीर्घकालदेखि उपभोक्ताहरूका लागि अत्यन्तै अपेक्षित योजना हो। तर वर्तमान अवस्थामा यस आयोजनाले लक्ष्यअनुसार सेवा प्रदान गर्न नसक्दा स्थानीय बासिन्दाहरू निराश र पीडित बन्नुपर्ने अवस्था आएको छ। राज्यको करोडौं करोड लगानी लगाएको खानेपानी परियोजनाले आज किन जनतालाई पानी खुवाउन सकेको छैन यसको बारेमा छलफल गर्नुपर्ने बेला आएको देखिन्छ ।
अहिले सचेत नागरिक अभियान नेपाल र नुवाकोटको विकास निर्माणको मोडल कस्तो हुनसक्छ ? भन्ने अभियानमा जुटेका युवा अभियन्ताहरुले यो आयोजना देखाएर धेरैले निर्वाचन जितेको तर काम नगरेको भन्दै नागरिकको स्वच्छ पिउने पानीको अधिकारमा अब देखि राजनीति नगर्न चेतावनी दिएका छन्। प्रजातन्त्र पुनःस्थापना पछि नुवाकोटले धेरै पटक अर्थमन्त्री र कयौं पटक मन्त्रि जन्माएको भएपनि यो खानेपानी योजना उनीहरुको लागि भोट माग्ने भाडो मात्र बनेको थियो।
तथापि, २०६५ सालमा रसुवा र नुवाकोटका उपभोक्ता तथा सरोकारवालाबीच जिल्ला प्रशासनको रोहवरमा भएको सहमतिपछि रसुवा नौकुण्ड गाउँपालिका (साबिक यार्सा–२) को मुहान प्रयोग गर्ने निर्णय भएपछि आयोजनालाई पुनः सक्रिय स्वरूपमा अघि बढाउने प्रयास गरिएको थियो। बोतलको पानीले तिर्खा मेट्न सक्ने स्तरमा पुगेको वर्तमान समाजले मूलको पानीको मूल्य, पहुँच र आवश्यकतालाई गम्भीर रूपमा नबुझेको टिप्पणी उपभोक्ताहरू स्वयं गर्छन्। अधूरा योजना, प्रभावहीन नीतिगत हस्तक्षेप, स्रोत परिचालनमा कमी, प्रकृयागत ढिलासुस्ती, राजनीतिक प्रतिस्पर्धा, भ्रष्टाचाको आशंका र चन्दा संस्कृतिले धेरै महत्वपूर्ण विकास आयोजना लथालिङ्ग बनाएको तीतो सत्यसँग ड्वाचे खानेपानी आयोजना पनि अछुतो रहन सक्दैन ।
यो आयोजना पञ्चायतकालमा सुरु, बहुदल आएपछि आंशिक सक्रियता र गणतन्त्र आएपछि विशेष चर्चामा आएको परियोजना हो। २०६४ को आसपास, लच्याङ, नर्जा, बागेश्वरी, गेर्खु, हल्दे, गणेशस्थान, खानीगाउँ तथा बिदुर नगरपालिका सहित ३० वटा वडामा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यसहित उपभोक्ता समिति गठन गरी दवाब, अभियान र स्थानीय नेतृत्वको बलमा पुनः काम अघि बढाइएको थियो। तर आजसम्म पनि परिणाम भने देखिएको छैन। स्थानीयस्तरमा हरेक राजनीतिक दल र नेताले आफूले धेरै गरे जस्तो दाबी गरे पनि उपलब्धि भने वास्तविक रूपमा देखिन नसकेको जनगुनासो छ।
आज सूर्यगढी, तादी, लिखु र बिदुर नगरपालिका अन्तर्गत हजारौं उपभोक्ताको खानेपानी सपना यस आयोजनासँग गाँसिएको छ। यो आयोजना १० वटा वडामा पुग्नेछ। त्यसैले अब पक्ष–विपक्ष, राजनीति, बहस र विरोध मात्र होइन, उपभोक्ता नेतृत्व, स्थानीय जागरण, पारदर्शिता, तथ्यगत कार्य–योजना र साझा दायित्व नै यो आयोजना सम्पन्न गर्ने मुख्य ऊर्जा बन्नुपर्छ ।