बुधबार, १३ साउन २०८३

images

बुधबार, १३ साउन २०८३

बुधबार, १३ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नुवाकोटको खरानीटारमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६० जनाले पाए विशेषज्ञ सेवा

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारस्थित तादी भ्यु एकेडेमी विद्यालय परिसरमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा तादी, पञ्चकन्या र दुप्चेश्वर क्षेत्रका सर्वसाधारणले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन्। शिविरमा विभिन्न रोगको परीक्षण तथा परामर्शका लागि राजधानीबाट आएको २५ सदस्यीय स्वास्थ्यकर्मी टोली परिचालन गरिएको थियो। टोलीले ३६० जना स्थानीयको स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्दै आवश्यक औषधि निःशुल्क वितरण गरेको आयोजकले जनाएको छ।

स्वास्थ्य शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँड, हाडजोर्नी विशेषज्ञ डा. राजेश चौधरी, फिजिसियन डा. सुशील बराल, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राम लामा तामाङ, डा. मनोज शाह लगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए। स्थानीय बासिन्दाले विशेषज्ञ चिकित्सकको पहुँच गाउँमै पुगेपछि स्वास्थ्य परीक्षण गराउन सहज भएको प्रतिक्रिया दिएका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुने अवस्थाबीच यस्तो शिविरले स्थानीयलाई ठूलो राहत पुगेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको मुख्य आयोजक तादी भ्यु एकेडेमी विद्यालयले स्वास्थ्यकर्मी टोलीको स्वागत गर्दै सम्पूर्ण व्यवस्थापन गरेको थियो। विद्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई खाजा तथा भोजनको व्यवस्था गरी सम्मान व्यक्त गरेको थियो। शिविरको सहआयोजकका रूपमा भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठान ले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। प्रतिष्ठानले कार्यक्रम सञ्चालन, समन्वय तथा व्यवस्थापनमा सक्रिय सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र भव्य बनाएको आयोजकको भनाइ छ। ग्रामीण समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै विशेषज्ञ स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यले आयोजना गरिएको शिविरलाई स्थानीयले अत्यन्त सकारात्मक रूपमा लिएका छन्। आयोजक तथा स्वास्थ्यकर्मीहरूको संयुक्त प्रयासले सयौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको भन्दै सहभागीहरूले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।