काठमाडौँ, १४ भदौः धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिनुभयो ।
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा रहेका सवारीसाधन नयाँबसपार्कमै रोकिएका बताउनुभयो ।
लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्