लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पहिरोले हुङ्गा खोला थुनियो : दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

समाचार

पहिरोले हुङ्गा खोला थुनियो : दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

न्युज बिहानी
न्युज बिहानी
Shares
पहिरोले हुङ्गा खोला थुनियो : दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

सोलुखुम्बु, २६ भदौः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने  हुङ्गा खोला  पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । आज बिहान ७ः०० बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले बताउनुभयो । पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा जम्मा भएको पानीको मात्रा बढिरहेको उहाँले जानकारी दिनुभयो ।

“खोलाको माथिल्लो भागबाट ठूलो पहिरो खसेर करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको जानकारी प्राप्त भएको छ,” उहाँले भन्नुभयो, “पहिरो नरोकिएकाले  तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौँ ।”हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले पहिरोका कारण बनेको अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्नसक्ने प्रशासनको अनुमान छ । 

सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताउनुभयो । महाकुलुङ गाउँपालिकाले खोला थुनिएको जानकारी पाएपछि घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले बताउनुभयो । 

घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उहाँले जानकारी दिनुभयो । हुङ्गा खोला तथा आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन छन् । स्थानीय प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई सचेत रहन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup