लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

हिरोसिमा स्मृति दिवस : आणविक हतियारको खतराबारे पुनः सचेत गराइयो

समाचार

हिरोसिमा स्मृति दिवस : आणविक हतियारको खतराबारे पुनः सचेत गराइयो

आगामी पुस्तासम्म युद्ध र आणविक विनाशको वास्तविकता पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
हिरोसिमा स्मृति दिवस : आणविक हतियारको खतराबारे पुनः सचेत गराइयो
जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ । यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्तिहरूबीच बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको अवधारणाप्रति तीव्र चिन्ता व्यक्त गर्दै आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले विश्वलाई फेरि हिरोसिमा वा नागासाकीजस्तै त्रासदीतर्फ धकेल्न सक्ने चेतावनी दिनुभएको छ ।
 
हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित समारोहमा करिब ५० हजार मानिसको सहभागिता रहेको थियो । संयुक्त राज्य अमेरिका, इरानलगायत करिब १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए । सन् १९४५ मा अमेरिकी बी–२९ बमवर्षक विमानले हिरोसिमामाथि आणविक बम खसालेको समय बिहान ८ः१५ बजे एक मिनेट मौनधारण गरिएको थियो भने शान्तिको प्रतीकस्वरूप घण्टी बजाइएको थियो ।
 
समारोहमा प्रस्तुत शान्ति घोषणामा मेयर मात्सुईले विश्वका केही राजनीतिक नेतृत्वले अझै पनि आणविक प्रतिरोधलाई यथार्थवादी सुरक्षा अवधारणाका रूपमा स्वीकार गरिरहेको उल्लेख गर्दै यस्तो सोचले हिंसालाई वैधानिकता प्रदान गर्ने र आणविक हतियारविहीन विश्वको लक्ष्यलाई थप टाढा धकेल्ने बताउनुभयो । उहाँले विगतका पीडादायी अनुभवबाट शिक्षा लिन र शान्ति स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्न विश्व नागरिकहरूलाई आह्वान गर्नुभयो ।
 
प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री बनेपछि पहिलो पटक उक्त स्मृति समारोहमा सहभागिता जनाउँदै संयुक्त राष्ट्रसङ्घको आणविक अप्रसार सन्धिको ढाँचाभित्र रहेर आणविक हतियारको प्रयोग कहिल्यै नहुने विश्व निर्माणका लागि जापानले ‘यथार्थवादी दृष्टिकोण’ अपनाउने बताउनुभयो । उहाँले जापानले युद्धपछिका तीन गैर–आणविक सिद्धान्त कायम राखेको उल्लेख गर्नुभयो । यद्यपि भविष्यमा ती नीतिहरूको स्वरूपबारे देशभित्र बहस जारी रहेको छ ।
 
ताकाइची नेतृत्वको सरकारले यस वर्षको अन्त्यतिर नयाँ सुरक्षा तथा रक्षा रणनीति दस्तावेज तयार गर्ने तयारी गरिरहेका बेला जापानका परम्परागत गैर–आणविक सिद्धान्तहरूबारे पुनर्विचार हुन सक्ने अड्कलबाजी पनि बढेको छ । विशेषगरी देशभित्र आणविक हतियार ल्याउन अनुमति नदिने तेस्रो सिद्धान्तबारे समीक्षा हुन सक्ने चर्चा चलिरहेको छ ।
 
यता, हिरोसिमा र नागासाकीका जीवित बाँचेकाहरूले विश्वभर पुनः बढ्दो आणविक प्रतिरोधको बहसप्रति चिन्ता व्यक्त गरेका छन् । जापान अमेरिकी आणविक सुरक्षा छातामुनि रहेको र सुरक्षा सुनिश्चितताका लागि वासिङ्टनसँग निरन्तर सहकार्य गरिरहेकाले जापानी सरकारले आणविक हतियार निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न वा त्यसका बैठकहरूमा पर्यवेक्षकका रूपमा सहभागी हुनुपर्ने जीवित पीडितहरूको माग स्वीकार गरेको छैन ।
 
सन् १९४५ अगस्ट ६ मा हिरोसिमामाथि खसालिएको आणविक बमका कारण करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि नागासाकीमा खसालिएको दोस्रो आणविक बमले करिब ७० हजार मानिसको ज्यान लिएको थियो । त्यसपछि अगस्ट १५ मा जापानले आत्मसमर्पण गरेसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।
 
हाल हिरोसिमा र नागासाकीका जीवित पीडितहरूको सङ्ख्या घटेर ९१ हजार १०५ मा पुगेको छ । यो प्रारम्भिक सङ्ख्याको करिब एक चौथाइ मात्र हो । उनीहरूको औसत उमेर ८६ वर्षभन्दा माथि पुगेको छ । बाँचेकाहरूले आफ्ना अनुभव र सम्झनाहरू समयसँगै हराउँदै जान सक्ने चिन्ता व्यक्त गर्दै आगामी पुस्तासम्म युद्ध र आणविक विनाशको वास्तविकता पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।