काठमाडौं । भन्सार एजेन्ट महासंघ नेपालले भन्सार क्षेत्रमा लागू गरिएका सुधारात्मक व्यवस्थालाई कमजोर बनाउने कुनै पनि निर्णय राष्ट्रहितविपरीत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा राजस्व चुहावट नियन्त्रण, पारदर्शिता अभिवृद्धि, उत्तरदायित्व सुनिश्चित तथा सुशासन कायम गर्ने उद्देश्यले भैरहवा भन्सार कार्यालयमा लागू गरिएको आधिकारिक व्यक्तिलाई मात्र प्रवेश व्यवस्था प्रभावहीन बन्ने संकेत देखिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
महासंघका अनुसार भन्सार क्षेत्र राष्ट्रिय राजस्व, आर्थिक सुरक्षा तथा राज्यको सार्वभौमिक अधिकारसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रवेश गर्ने प्रत्येक व्यक्तिको पहिचान र अभिलेख सुनिश्चित गर्नु आधुनिक भन्सार प्रशासनको आधारभूत सिद्धान्त हो। विश्व भन्सार संगठन (WCO) का सिद्धान्तअनुसार अघि बढिरहेका सुधारलाई कमजोर बनाउने अभ्यास दीर्घकालीन रूपमा राष्ट्रहितमा नहुने महासंघको भनाइ छ।
व्यापार सहजीकरण र सुशासन एकअर्काका पूरक रहेको उल्लेख गर्दै महासंघले सीमाक्षेत्रका समस्या कानुनी तथा संस्थागत उपायबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। साथै, प्रधानमन्त्री, अर्थमन्त्री र भन्सार विभागलाई भन्सार सुधारका विषयमा स्पष्ट र दृढ नीतिगत नेतृत्व प्रदान गर्न आग्रह गरेको छ।
महासंघले देशभरका भन्सार एजेन्ट, स्थानीय संघ तथा भन्सार प्रशासनसँग समन्वय गर्दै पारदर्शी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मान्यताअनुरूपको भन्सार प्रणाली निर्माणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ। साथै, भन्सार सुधारमा पछि हट्नु राजस्व सुरक्षा, सुशासन र राज्यप्रतिको जनविश्वास कमजोर पार्ने जोखिम हुने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्