काठमाडौं । बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका ८ सयभन्दा बढी शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन। आइतबार रातिसम्म ८२३ शव भेटिएकामा ३२ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार धेरै शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको छ। उनका अनुसार भेटिएका सबै शवको तस्बिर वेबसाइटमा राखिएको छ भने परिवार तथा आफन्तलाई जानकारी लिन सहज होस् भनेर हेल्प डेस्कसमेत सञ्चालन गरिएको छ।
शवको सनाखतमा सघाउन भारतबाट फरेन्सिक विशेषज्ञ टोलीसमेत आइतबार नेपाल आएको छ। शवको पहिचानमा ढिलाइ हुँदै जाँदा खोज तथा उद्धारसँगै शव व्यवस्थापन पनि सरकारका लागि थप चुनौती बनेको छ।शव राख्ने स्थानको अभाव भएपछि सरकारले पहिचान खुल्न नसकेका शवलाई ‘एयरटाइट’ प्लास्टिक झोलामा प्याक गरेर जमिनमुनि राख्न थालेको छ। त्यसअघि शवको डीएनए नमुना र औँठाछाप संकलन गरिने र भविष्यमा सनाखत भएपछि परिवारलाई शव हस्तान्तरण गर्ने व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्।
तर, शवलाई जमिनमुनि गाडेर राख्ने सरकारी व्यवस्थाप्रति कतिपयले प्रश्नसमेत उठाएका छन्। गृह मन्त्रालयका अधिकारी भने तत्कालका लागि यो बाध्यात्मक व्यवस्थापन भएको बताउँछन्। उनीहरूका अनुसार शव राख्न पर्याप्त स्थान उपलब्ध नभएको र तत्काल ठूलो क्षमताका रेफ्रिजेरेटर व्यवस्थापन गर्न पनि कठिन भएकाले अस्थायी रूपमा जमिनमुनि राख्ने निर्णय गरिएको हो।आइतबारसम्म २२८ शव यसरी जमिनमुनि राखिएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्। सरकारले भने प्रत्येक शवको आवश्यक फरेन्सिक विवरण सुरक्षित राखेर पछि पहिचान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्