लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

समाचार

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा, कच्चापदार्थ र विद्युतीय सामग्री उत्तरी नाका चीनको केरुङबाट रसुवागढी हुँदै आउने गर्छन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ, २५ भदौः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने रसुवागढी नाका बगाउनुका साथै ठूलो जनधनको क्षति गरेको थियो । हालसम्म उक्त घटनामा परेर एक हजार ३६७ जनाको ज्यान गएको छ भने पाँच हजार १३२ जना अहिलेसम्म पनि सम्पर्कविहीन भएका छन् ।

यस्तै, बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ तथा सरकारी कर्मचारी ७३ जना अझै सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६  र विदेशी पर्यटक ५८९ जना सम्पर्कविहीन  छन् ।उक्त बाढीबाट नजिकिँदै गरेका तीज, दसैँ, तिहार र छठ पर्वका लागि आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान र सयौँ कन्टेनरसमेत बगाएका छन् । नेपाली बजारमा चाडपर्वका बेला खपत हुने अधिकांश लत्ताकपडा, कच्चापदार्थ र विद्युतीय सामग्री उत्तरी नाका चीनको केरुङबाट रसुवागढी हुँदै आउने गर्छन् ।

व्यवसायीका अनुसार भदौदेखि सुरु हुने नेपालका चाडपर्वका लागि व्यवसायीले असार साउनमा चीन पुगेर सामान आयात गर्ने गरेका छन् । गत वर्षको साउनदेखि चीनसँगको अर्को प्रमुख व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि पछिल्लो समय व्यवसायीहरुले रसुवागढी नाका हुँदै सामान आयात गर्दै आएका थिए ।

न्युरोड ओटुमा लामो समयदेखि व्यापार गर्दै आउनुभएका राष्ट्रिय व्यापार सङ्घका पूर्वध्यक्ष सरोज श्रेष्ठ आफूले चाडपर्वलाई लक्षित गरेर ल्याएको लाखौँ मूल्य बराबरको सामान बगाउँदा समस्या परेको बताउनुहुन्छ ।“दसैँ, तिहारका लागि भनेर झण्डै ३५ लाख मूल्य बराबरको सामग्री आउँदै थियो भदौ १० को उक्त बाढीले सबै सामान बगायो, सामान नहुँदा दसैँ, तिहारमा व्यवसाय गर्न नसकिने भइयो”, उहाँ भन्नुहुन्छ ।

फसिकेवमा व्यापार गर्दै आउनुभएका वीरेन्द्र श्रेष्ठको पनि सामान उक्त बाढीले बगाएको छ । तीजलाई लक्षित गरी महिलाका लागि ब्याग ल्याउनुभएका श्रेष्ठको सामान बगाउँदा रु ४० लाख बराबरको क्षति भएको उहाँ बताउनुहुन्छ । यस्तै, महिलाले लगाउने भित्रि कपडालगायतका सामग्रीको होलसेल गर्दै आउनुभएका भोटेबहालका रवि खड्काको सबै सामान बाढीले बगाउँदा रु ५० लाख क्षति भएको बताउनुहुन्छ ।

न्युरोड गुच्चाटोलमा टोपीको होलसेल गर्दै आउनुभएका अर्जुन हुमागाईंको पनि रु ५० लाख बराबरको क्षति पु¥याएको छ । यसैगरी, न्युरोडकै फसिकेवमा ‘बेल्ट’ र पर्सको व्यापार गर्नुभएका विष्णु न्यौपानेले पनि दसैँका लागि ल्याएको सबै सामान बाढीले बगाइदियो । उहाँको सबै गरेर रु ८० लाख बराबरको क्षति पुगेको छ । माथि उल्लेख घटना प्रतिनिधिमुलक मात्र हुन् । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा होलसेल गर्दै आउनुभएका हजारौँ व्यवसायीको सामान भोटेकोशी बाढीले बगाइदिएको छ । न्युरोडको नेपाः कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, महाबौद्ध, ओटुलगायत क्षेत्रमा दसैँका लागि ल्याएका अर्बौंै मूल्य बराबरको सामान भोटेकोशी बाढीले बगाउँदा यहाँका व्यवसायीहरु समस्यामा परेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ चाडपर्वका लागि ल्याइएका सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेको बताउनुहुन्छ । “चाडपर्वका लागि भनेर केरुङ  नाका हुँदै सामान ल्याएका २५० कन्टेनर सामग्री बाढीले बगाउँदा अर्बौंको क्षति पुगेको छ”, अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।केरुङबाट ल्याएका २५० कन्टेनर सामानमध्ये ७६ कन्टेनर सामान भन्सार पास भएर काठमाडौँ ल्याउने तयारी गरिएको अवस्थामा बाढी आएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । यस्तै, झण्डै २५० मालवाहक सवारीसाधन सामान लिनका लागि भन्सार नाकामा जाँदै गरेका बेलामा बाढीले बगाएको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कुमार कार्की नेपाल–चीन जोड्ने सबैभन्दा छोटो नाका केरुङ नाका भएका कारण पनि यस नाकाबाट सबैभन्दा धेरै सामान आयात हुँदै आएको बताउनुहुन्छ । “छोटो नाकाका कारण सामान आयात गर्न सजिलो हुने भएकाले धेरै मालसामान यही नाका हुँदै आउँछ, चाडपर्वका लागि नाकामा आएको अर्बौंको सामान भोटेकोशी बाढीले बगाउँदा व्यवसायी समस्यामा परेका छन्”, उहाँ भन्नुहुन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार भोटेकोशी बाढीले झण्डै ६०० मालवाहक सवारीसाधनमा क्षति पुर्‍याएको छ । महासङ्घका महासचिव डेकनाथ गौतम भोटेकोशी बाढीले एक हजारभन्दा बढी मालवाहक र यात्रुबाहक सवारीसाधनमा क्षति पुर्‍याएको बताउनुहुन्छ । “चाडपर्वको पूर्वसन्ध्यामा सामान लिन भन्सार नाका गएका सयौँ मालवाहक सवारीमा क्षति पुगेको छ”, उहाँ भन्नुहुन्छ ।

चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिँदै गरे पनि वर्षायामका कारण नेपालतर्फको सडक राम्रो नहुँदा रसुवागढी नाकामा ठूलो परिमाणमा मालसामान र कन्टेनर रोकिएर बसेका थिए । भन्सारमा रहेका रेडिमेड सामानसँगै ठूलो सङ्ख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (इभी) समेत बाढीले बगाएको छ । महासङ्घका महासचिव गौतमका अनुसार भन्सारमा रहेका विद्युतीय सवारीसाधन, सामान लिन गएका मालवाहक, यात्रुवाहक र गोसाइँकुण्ड दर्शन गर्न गएकासमेत एक हजार ३०० हाराहारी सवारीसाधनमा भोटेकोशी बाढीले क्षति पु¥याएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup