काठमाडौँ, १२ भदौः रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले भदौ ११ गते राति १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तरराष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ हेलिकप्टर उद्धार तथा राहत कार्यमा परिचालन गरिएका छन् । स्थलगत तथा हवाई उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिवेदनमा उद्धारसम्बन्धी विवरणअनुसार हालसम्म जम्मा एक हजार ९७६ जनाको उद्धार गरिएको उल्लेख छ ।बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हिम–चट्टान खस्दा आएको बाढी
प्राधिकरणको विवरणअनुसार २०८३ भदौ १० गते नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब एक वर्ग किलोमिटर क्षेत्रफलको हिम–चट्टान खसेर ठूलो भू–चाल उत्पन्न भएको थियो । उक्त घटनाले म्याग्निच्युड ५.२ बराबरको भूकम्पीय सङ्केत दिएको बताइएको छ । हिम–चट्टान खस्दा भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा भीषण बाढी आएको र त्यसबाट व्यापक क्षति भएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, आपतकालीन स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्जाल सञ्चालन, राहत वितरण, अन्तरराष्ट्रिय सहायता र सूचना व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
१३० घाइते, अस्पतालमा उपचार जारी
प्राधिकरणको विवरणअनुसार बाढीबाट हालसम्म १३० जना घाइते भएका छन् । तीमध्ये ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको, ४८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका र १४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।
नौ सय ७७ जना सम्पर्कविहीन
प्राधिकरणको विवरणअनुसार हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको उल्लेख छ । त्यस्तै बिहीबार राति १०ः०० बजेसम्ममा ३८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १३७ रहेका छन् । सम्पर्कविहीन ९७७ जनामध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार र रसुवाका १६१ जना रहेका छन् । प्रतिवेदनमा सम्पर्कविहीन विदेशी नागरिकको सङ्ख्या ५१७ रहेको तथा नेपाल घुम्न आएका र विदेशमै बस्ने नेपाली नागरिकमध्ये १२७ जना सम्पर्कविहीन रहेको विवरण राखिएको छ ।
सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन
बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ । देवीघाटको सडक अवरोध हटाउने काम सम्पन्न भइसकेको छ । गल्छी–विदुर–त्रिशूली तथा बैरेनी–मुग्लिन सडकखण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको छ । धुञ्चे–ग्राङ सडकखण्डमा एउटा हिल एक्साभेटर, एउटा लोडर र एउटा टिपर परिचालन गरिएको छ । त्यस्तै, विदुर–त्रिशूली–ढुङ्गे खण्डमा तीनवटा भारी उपकरण परिचालन गरिएको छ ।
बैरेनी–मुग्लिन खण्डमा एउटा ब्याकहो परिचालन गरिएको छ भने थप एउटा ह्विल लोडर नुवाकोट सडक डिभिजनबाट छिट्टै थप गर्ने तयारी गरिएको छ ।सडक अवरोध हटाउने कार्यलाई थप प्रभावकारी बनाउन सडक विभागअन्तर्गत काठमाडौँका दुई भारी उपकरण तयारी अवस्थामा राखिएका छन् । सडक डिभिजन मुलकोट र सडक डिभिजन डुम्रे (खैरेनी) मा पनि एक–एक वटा उपकरण राखिएका छन् । त्यस्तै जनकपुरमा नौवटा भारी उपकरण र चार वटा टिपर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
तीन जिल्लामा तत्काल राहत
नेपाल सरकारले तत्काल राहत कार्य वितरणका लागि रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख गरी कुल दुई करोड ५० लाख नगद पठाएको जनाइएको छ । त्यस्तै, काठमाडौँलगायत क्षेत्रबाट राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ । प्रभावित परिवारलाई खाद्यान्न, पानी, त्रिपाल, कम्बल, सुत्ने सामग्री, सोलार बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सामग्रीलगायत वितरण भइरहेको छ ।
प्राधिकरणको विवरणअनुसार राहतका लागि ५०० झुल, चार हजार २०० वटा २० लिटरका बाल्टिन, एक हजार वटा बालबालिकाका डिग्निटी किट, १०० वटा सेतो टार्पोलिन, १५० वटा स्लीपिङ ब्याग, १०० म्याट्रेस, ७०० वटा कम्बल, ५०० वटा प्लास्टिक सिट, १०० रोल डोरी, एक हजार वटा सोलार ल्याम्प, ५०० वटा सोलार ल्याम्प प्लेट, ३० केभिए क्षमताको एक वटा जेनेरेटर, पावर बैंक, २०० हाराहारी टेन्ट, दुई वटा पोर्टेबल जेनेरेटर, दुई हजार १२० वटा पिरियड प्यान्टी र ९० वटा शव राख्ने ब्याग पठाइएको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्