बुधबार, २३ ब‌ैशाख २०८३

images

बुधबार, २३ ब‌ैशाख २०८३

बुधबार, २३ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

उपत्यकामा भत्काइए २,५६६ घरटहरा

अवैध तथा अतिक्रमित संरचना भत्काउने अभियान थालेदेखि काठमाडौं उपत्यकामा मंगलबारसम्म दुई हजार ५६६ घरटहरा भत्काइएको छ । जसमा पक्की र कच्ची संरचना छन् । सरकारले ११ वैशाखदेखि अतिक्रमित संरचना हटाउने अभियान सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई हजार ५६६ घरटहरामा तीन हजार पाँच परिवारका १७ हजार मानिस बस्दै आएका थिए । उनीहरूमध्ये करिब आठ हजार सुकुमवासी सम्पर्कमा छन्, तर आधा संख्या सरकारको तथ्यांकबाहिर छ ।

‘अभियान थालेदेखि हालसम्म दुई हजार ५६६ घरहटरा भत्किएको तथ्यांक छ, अब शनिबार र आइतबार भत्काउने योजना छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भने, ‘हामीले सुरक्षाको पाटो हेरिरहेका छौँ, अन्य पाटो प्रशासन, सहरी विकास मन्त्रालय, महानगरपालिकालगायतले हेरेका छन् ।’ यसअघि सोमबार काठमाडौंको कपनस्थित साततले क्षेत्रमा बनेका १०७ भन्दा बढी अवैध संरचना भत्काइएको थियो । सरकारले सरकारी कागजात हेरेर खोलाकिनार तथा अतिक्रमित संरचना हटाइरहेको छ । काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म एक हजार ८३७ परिवारका सात हजार ९७८ जना मात्र सम्पर्कमा आएका छन् । विस्थापित भएपछि सुरक्षित बसोबासको खोजीमा रहेका अधिकांश मानिस सम्पर्कमा आएका छैनन् । हाल एक हजार ४६८ भन्दा बढी परिवारका करिब पाँच हजार ३१० जना आ–आफ्नै तरिकाले बसेका छन् । 

हाल विस्थापितलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा १४७, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटेलहरूमा १८०, सुन्धारा क्षेत्रका होटेलमा २५ जना, भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ८१, बोडेस्थित कृषि तालिम केन्द्रमा ३०, धापाखेलको सेल्टरमा १० जनालाई राखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी आश्रममा बसेकाको सहजताका लागि त्रिपालसहितका अस्थायी टहरासमेत बनाइएको छ । खुला रूपमा राख्न असुरक्षा भएको भन्दै उनीहरूलाई टहरा निर्माण गरेर राखिएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।