शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जनार्दन शर्माद्वारा ‘प्रगतिशील अभियान, नेपाल’ सार्वजनिक

पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राष्ट्रव्यापी राजनीतिक अभियानको घोषणा गरेका छन्। ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यो अभियानमार्फत “तेस्रो र नयाँ बाटो” निर्माण गर्ने प्रतिवद्धता जनाए। शर्माले विगत आठ दशकमा चलेका जनआन्दोलन, जनयुद्ध तथा पछिल्लो जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी वर्गको हितमा केन्द्रित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे। उनका अनुसार यो अभियान नयाँ राजनीतिक दल होइन, तर विभाजित वाम तथा प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनतर्फ अघि सार्ने वैचारिक–राजनीतिक प्रयास हो।

कार्यक्रममा उनले भने, “विद्रोह जायज छ, विद्रोह अधिकार हो। आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।”अभियानले जारी गरेको विज्ञप्तिमाअनुसार माओवादी आन्दोलनपछि नेपाली कम्युनिस्ट राजनीति दिशाहीन हुँदै गएको, नेतृत्व सत्ता र स्वार्थमा जकडिँदा क्रान्तिकारी आदर्श कमजोर हुँदै गएको आरोप लगाइएको छ। शर्माले माओवादी आन्दोलनको शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड भने पनि, त्यसपछि दलाल पुँजीवादको संसदीय संरचनामा विलीन हुँदा आन्दोलनको आत्मा कमजोर भएको बताए। विज्ञप्तिमा उल्लेख छ, “नीतिहीनतालाई नै नेतृत्वले नीति बनायो, क्रान्तिकारी मूल्यहरू क्षय हुँदै गए।”

उनले अब नयाँ पुस्तालाई वैचारिक रूपमा सशस्त्र गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने बताए। शर्माका अनुसार मजदुर, किसान, उत्पीडित जाति–जाति, लिङ्ग र क्षेत्रका जनताको हितमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माण अपरिहार्य छ, किनकि हालका मुख्यधारका दलप्रति जनविश्वास खस्किइसकेको छ। अभियानको लक्ष्य स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य निर्माण रहेको बताइएको छ। शर्माले “नेपाली विशेषतायुक्त समाजवाद” निर्माणमा जोड दिँदै विश्व पुँजीवादको जन्जिर तोडेर नयाँ बाटो बनाउन सबै वाम, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिलाई एक ठाउँमा उभिन आह्वान गरे।विज्ञप्तिमा भनिएको छ, “देशलाई निराशाबाट आशातर्फ डोर्याउन, समानता र स्वाधीनताको बाटोमा अघि बढाउन र नयाँ पुस्ताको हातमा भविष्य सुम्पनु हाम्रो साझा दायित्व हो।”