शुक्रबार, ४ बैशाख २०८३
सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एमाले केन्द्रीय सदस्य ऐन महरले सत्ताको आशीर्वादमा हिरासत बस्नबाट उन्मुक्ति पाएका छन् । पक्राउ छल्न बुधबार दिउँसो आफैँ भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरो पुगेका महरलाई म्याद थप प्रक्रियाका लागि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको थियो । तर, सरकारी वकिलले म्याद थपका लागि जिल्ला अदालत नै नलगी हाजिरी जमानीमा छाड्ने निर्णय गरेर महरलाई तीन घण्टामै ससम्मान घर पठाएको छ । महरलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले नै अनुमति दिएको थियो । यसबाहेक पनि उनीविरुद्ध बलात्कारको अर्को जाहेरी पनि प्रहरीमा छ ।
महरविरुद्ध बलात्कारको जाहेरीसमेत दिएकी उनै महिलालाई भने उल्टै महर, उनकी श्रीमती सनुजा श्रेष्ठ र आफन्तको उजुरीका आधारमा प्रहरीले तीनपटकसम्म पक्राउ गरेर ५० दिन हिरासतमा राखिसकेको छ । तर, पीडित महिलाले नेता महर र उनकी श्रीमती श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्न नै ठुलो संघर्ष गर्नुपर्यो । उनका अनुसार १२ असारमै जाहेरी लिएर ब्युरो कार्यालय पुगेकी थिइन् । तर, सत्ता र शक्तिको दबाबमा ब्युरोले जाहेरी दर्ता नै गरेन । त्यसपछि पनि दुई दिन बिराएर धाउँदासमेत दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । उक्त जाहेरी ३ भदौमा दर्ता भएको थियो ।
पीडित महिलाले सत्ता र शक्तिको आडमा न्याय पाउन गाह्रो भएको गुनासो गरिन् । ‘महर मात्रै होइन, उनकी श्रीमती र आफन्तले समेत मेरो फोटो राखेर तथानाम लेखे । तथानाम गाली गरे । डिप फेक भिडियो बनाए । सामाजिक सञ्जालमा हाले,’ उनले भनिन्, ‘पटक–पटक चरित्रहत्या भएपछि म जाहेरी लिएर साइबर ब्युरो पुगेँ, तर प्रहरीले जाहेरी दर्ता नै गर्न मानेन । केही सिप नलागेपछि हुलाकबाट पठाएको जाहेरी बल्ल दर्ता भयो । अदालतबाट पक्राउ पुर्जी पनि जारी भएपछि केही आशा पलाएको थियो । तर, सरकारी वकिलको कार्यालयले उनलाई तीन घण्टामै हाजिरी जमानीमा छाडेको घटनाले मर्माहत बनाएको छ । सत्ता र शक्तिको आडमा पीडितले न्याय पाउन गाह्रो हुने अनुभूति भएको छ ।
त्यसो त अदालतबाट पक्राउ अनुमति लिए पनि साइबर ब्युरोले उनलाई पक्राउ गरेन । ‘आफैँ कार्यालयमा उपस्थित हुनू’ भनेर सहज बनाइदियो । महर श्रीमतीसहित दिउँसो ब्युरो कार्यालय पुगेका थिए । सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि महरदम्पतीलाई छाडिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । ‘महरदम्पती दिउँसो ब्युरोमा हाजिर हुन आउनुभएको थियो । बयानपछि उहाँहरूलाई सरकारी वकिल कार्यालय लगियो । वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको निर्देशन ब्युरोमा आएपछि छाडिएको हो ।’
सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले अनुसन्धान गर्न म्याद थप गर्नुपर्ने कारण नदेखिएपछि महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको बताए । उनले भने, ‘साइबर कसुर गरेको भन्दै उहाँ (महर)विरुद्ध उजुरी परेको थियो । प्रहरीले पक्राउ गरेर हामीकहाँ उपस्थित गरायो । घटना विवरण हेर्दा थप अनुसन्धानका लागि म्याद माग गर्नुपर्नेजस्तो देखिएन, अनि हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो,’ उनले भने ।
नेता महरले भने आफूमाथि भ्रम फैलाएर चरित्रहत्या गरिएको दाबी गरेका छन् । बुधबार साँझ श्रीमतीसहित फेसबुक लाइभमा आएर उनले साना विषयलाई अत्यन्त ठुलो बनाएर प्रचारप्रसार गरिएको बताएका छन् । ‘हामी दुवैजना (श्रीमतीसहित) ८–९ महिनाअघि फेसबुक लाइभमा बसेर जे कुरा भनेका थियौँ, त्यसैलाई लिएर चरित्रहत्या भयो भनियो । तर, म फेरि भन्न चाहन्छु उक्त लाइभमा असाध्यै मर्यादित शब्दहरू, कसैको चरित्रहत्या नगरी हाम्रो विषयमा उठेका प्रश्नहरूको जवाफ दिएको हो,’ उनले भने, ‘त्यो विषयमा साइबर ब्युरोमा उजुरी दर्ता भएको र त्यसै विषयमा बुझ्नका लागि फोन आएपछि हामीहरू गएका हौँ ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।