आईतबार, १३ ब‌ैशाख २०८३

images

आईतबार, १३ ब‌ैशाख २०८३

आईतबार, १३ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

रोकिएन कांग्रेसको शक्ति संघर्ष : दलको नेतामा चुनाव रोकियो

गत २१ फागुनको निर्वाचनबाट निर्वाचित सांसदले शपथ लिएको एक महिनासम्म पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । सर्वोच्च अदालतले गगन थापा पक्षधरलाई आधिकारिता दिएपछि पनि कांग्रेसको शक्ति संघर्ष रोकिएनको छैन, बरु दलको नेता चयनमा नयाँ समीकरण देखिएको छ । निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिको प्रयास भए पनि आकांक्षीले अडान नछाडेपछि शीर्ष नेतृत्व नै दबाबमा आएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समन्वय समितिले सहमतिको प्रयास जारी राखेको छ । उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेको समन्वय समितिले सहमति जुटाउन आकांक्षीसँग संवाद गरिरहेको छ । 

महामन्त्री पौडेलले सहमतिको प्रयास जारी रहेको तथा आकांक्षी धेरै देखिएको बताए । ‘दलको नेताका लागि सहमतिको प्रयास जारी छ । आइतबारसम्म सहमतिकै प्रयास हुन्छ, नभए सोमबार निर्वाचन हुन्छ,’ पौडेलले भने, ‘आकांक्षी पनि धेरै हुनुहन्छ ।’ इतर पक्षका शीर्ष नेताहरूसँग व्यापक परामर्श गर्ने निर्णय गर्दै शुक्रबारका लागि तय निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । कांग्रेस दलको नेताका लागि समानुपातिक सांसदद्वय भीष्मराज आङ्देम्बे र अर्जुननरसिंह केसी तथा रसुवाबाट निर्वाचित मोहन आचार्य मुख्य दाबेदार देखिएका छन् । आचार्यलाई सभापति गगन थापाको साथ छ । आङ्देम्बेलाई उपसभापति शर्मा, नेता डा. शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको समर्थन छ । 

केसी भने आचार्य र आङ्देम्बेको विकल्पमा आफ्नो नाममा सहमति जुट्ने अवस्था भए दलको नेता बन्ने दाउमा छन् । निर्वाचन हुने अवस्थामा आफू प्रतिस्पर्धाबाहिर रहने उनले बताएका छन् । केसीले ज्येष्ठ सदस्यको हैसियतमा अन्य सांसदहरूलाई शपथ खुवाएका थिए भने सभामुख चयनपूर्व सदनसमेत चलाएका थिए । आचार्य विशेष महाधिवेशन र आङ्देम्बे नियमित महाधिवेशनको पक्षधर हुन् । पार्टीको १४औँ महाधिवेशनमा आङ्देम्बे देउवा पक्षबाट सहमहामन्त्रीमा र आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

विशेष महाधिवेशनको विपक्षमा उभिए पनि संसद्को पहिलो बैठकमा भने आङ्देम्बेले विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरण भएर अगाडि बढेको बताएका थिए । निस्कल राई, बासना थापा र योगेश गौचन थकालीलगायतले पनि आकांक्षा राखेका छन् । कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा संसदीय दलको नेता निर्वाचन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । पार्टीको बृहत्तर हित, लोकतन्त्र र संविधानमाथि आएका चुनौती सामना गर्न सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको स्नेहीले बताए ।

संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये पाँच दलले तत्कालै संसदीय दलको नेता चयन गरेका थिए । कांग्रेसको संसदीय इतिहासमा ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि दलको नेता निर्वाचनबाटै चयन हुँदै आएका छन् । विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिले सर्वोच्चबाट मान्यता पाएपछि कांग्रेसको विवाद थप जटिल देखिएको छ । १४औँ महाधिवेशन पक्षधरले निवर्तमान केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको भेलासमेत बोलाएको छ ।आजको नयाँ पत्रिका  दैनिकमा समाचार छ।