शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

चुनावी धक्काको आत्ममन्थन गर्दै दलहरू

प्रतिनिधिसभा निर्वाचनको अप्रत्याशित धक्कासहितको परिणामपछि पुराना दलहरू एकसाथ आत्मसमीक्षामा जुटेका छन् । कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएर कमजोर प्रदर्शन, अन्तर्घात र समग्र चुनावी अवस्थाको समीक्षा गर्दै छ । एमाले र नेकपाले तल्लो तहदेखि प्रतिवेदन संकलन गर्दै पराजयका कारण पहिचान गर्दै छन् । जसपा नेपालले ‘लहर’लाई हारको कारण मानेको छ भने राप्रपाले पनि हारको विस्तृत विश्लेषण गर्ने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय भोगेपछि कांग्रेसले शुक्रबार चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा देशको समग्र चुनावी परिस्थिति, पार्टीको कमजोर प्रदर्शन र अन्तर्घातलगायत विषयमा छलफल गर्ने तयारी छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको सूचनाअनुसार शुक्रबार १ बजे ललितपुरस्थित सानेपा पार्टी कार्यालयमा बैठक बस्नेछ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । निर्वाचनमा कांग्रेसले संसद्को कुल २७५ सिटमध्ये जम्मा ३८ सिट मात्रै जितेको छ । प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित कांग्रेस दोस्रो स्थानमा सीमित भएको हो । अघिल्लो निर्वाचनमा ८८ सिट जितेर संसद्को पहिलो दल बनेको कांग्रेस यसपटक पहिलो दल बनेको रास्वपाभन्दा १४४ सिटले पछाडि परेको छ । सभापति गगनकुमार थापाले चुनावी हारको नैतिक जिम्मेवारी स्वीकार गर्दै आगामी कदमबारे २५ फागुनदेखि नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् । 

कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्दै निर्वाचन लडेको थियो । थापाले सभापतिबाट राजीनामा दिने विकल्पमा पनि सुझाव मागेका छन् । यद्यपि, उनी पक्षधर नेताले राजीनामा गर्न नहुने सुझाव दिएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले नयाँ पत्रिकासँग भने, ‘बैठकमा निर्वाचनसँग सम्बन्धित सबै विषयमा विस्तृत समीक्षा हुनेछ र पार्टीको पुनर्निर्माणको मार्गचित्र तय गर्छौँ ।’सभापति थापाले गत साता पदाधिकारीहरूसँग छलफल गर्दै केन्द्रीय कार्यसमिति बैठकबारे राय लिएका थिए । त्यसअघिको शनिबार पार्टीका २५ जना केन्द्रीय नेताले थापासँग बालुवाटारमा भेट गरेका थिए । सभापति थापा निर्वाचनमा अप्रत्याशित पराजयका लागि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थितिमा छन् । यद्यपि, राजीनामा नदिन उनीमाथि पार्टी नेताहरूको दबाब छ ।

केन्द्रीय सदस्यहरूले उनलाई ‘राजीनामा नभई नियमित महाधिवेशनको तयारी गर्न’ सुझाव दिइरहेका छन् । शनिबार भेटेका सहमहामन्त्री प्रकाश स्नेही तथा नेताहरू अजयबाबु सिवाकोटी, देवेन्द्रराज कँडेल, नारायण भट्टराई, जनक गिरी, मुना भुसाल, डा. अनिता प्रधान, विष्णुदेवी पाण्डेसहितका नेताहरूसँग भने थापाले राजीनामा दिने कुरा नगरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए । भेटमा उनीहरूले सभापति थापासँग पार्टी सुधारका तीन माग गरेका थिए । सिवाकोटीका अनुसार उनीहरूले पार्टीको विद्यमान क्रियाशील सदस्यता खारेज गर्न तथा बायोमेट्रिकसमेत लिएर प्रत्यक्ष रूपमा व्यक्तिको उपस्थितिमा नयाँ क्रियाशील सदस्यता दिनुपर्ने पहिलो माग राखेका छन् ।

दोस्रो, अहिले सक्रिय र प्रभावकारी नभएका तथा अवधि सकिएका तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघको केन्द्रदेखि जिल्ला समिति विघटन गर्न उनीहरूको माग थियो । तेस्रो, आगामी भदौसम्म पार्टीको नियमित महाधिवेशनमा जाने गरी पार्टीको आन्तरिक सुधारको एजेन्डामा काम गर्नुपर्ने नेताहरूको माग थियो । यसमा सभापति थापाले थप छलफल गरौँला भन्ने जवाफ दिएका थिए । विशेष महाधिवेशनसँगै १ माघमा थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । 

निर्वाचित भएको ५० दिनमा कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा गएको थियो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गत साता सार्वजनिक दुईवटा भिडियो सन्देशमा पार्टीले चुनावमा व्यहोरेको हारको कारक वर्तमान नेतृत्व नभएर निवर्तमान नेतृत्व भएको भन्दै सबै बसेर समीक्षा गर्नुपर्नेमा जोड दिएका थिए । शर्माले सभापति थापालाई राजीनामा नदिन सुझाव दिँदै आएका छन् । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महŒवाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि अगाडि बढ्नुपर्ने भन्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।