शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गरिएको छ। प्रहरीले सरकारी वकिलको सहमतिमा उनीहरूलाई ‘आवश्यक पर्दा उपस्थित हुने’ सर्तमा मुक्त गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतको निर्देशन पालना गर्दै हिरासतमा राख्ने अवधि नथपिएको र कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई छोडिएको हो। यद्यपि, उनीहरूमाथिको अनुसन्धान भने यथावत् रहने बताइएको छ।
भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो। त्यसयता काठमाडौँ जिल्ला अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान भइरहेको थियो। तर, बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद थप्न अस्वीकार गर्दै अनुसन्धान नसकिएको अवस्थामा हिरासत मुक्त गरेर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले चैत २५ पछि हिरासतमा राख्न नमिल्ने स्पष्ट गर्दै वैकल्पिक कानुनी व्यवस्था अपनाउन निर्देशन दिएको थियो।यसअघि जिल्ला अदालतले चैत २१ देखि लागू हुने गरी पाँच दिनको तेस्रो म्याद दिएको थियो। सो अवधिमा अनुसन्धान पूरा गरी मुद्दा दर्ता गर्ने वा नगर्ने निर्णय गर्नुपर्ने थियो। तर अनुसन्धान अपूरो रहेपछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ अनुसार प्रक्रिया अपनाउँदै उनीहरूलाई रिहा गरिएको हो।