शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नरसंहारमा सरकार : १९ युवा मारिए, ४ सय २६ जना घाइते

एकैपटक धेरै घाइतेको चापका कारण उपचारमा चुनौती थपिएको सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए ।

भ्रष्टाचार, बेबी नेपो र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी प्रदर्शनमा सरकारले १९ निहत्था नौजवानको नरसंहार गरेको छ । ४२६ घाइते भएका छन्, जसमध्ये ४२ आइसियूमा छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका युवा संसद् भवन प्रवेश गरेपछि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । युवाहरू गोली लागेर भटाभट ढल्न थालेपछि जेन–जी प्रदर्शन काठमाडौंबाहिर पनि विस्तार भएको थियो । देशका विभिन्न सहरमा प्रदर्शन भएकामा काठमाडौंमा १७ र इटहरीमा दुईजनाको मृत्यु भएको छ । 

उपत्यकाका ठुला अस्पताल घाइतेले थेगिनसक्नु छ । इमर्जेन्सीमा रगताम्य घाइतेको दृश्यले जो–कोहीको मुटु हल्लाउँछ । घाइतेको चाप थेग्न नसकेपछि कतिपयलाई अस्पतालले भुइँमै राखेर सेवा दिएका थिए । तर, सरकारको बर्बरता सडकमा मात्रै होइन, अस्पतालमा पनि रोकिएन । सिभिल अस्पतालको इमर्जेन्सीमा गएर प्रहरीले चिकित्सकमाथि बुट र लाठी बर्सायो । सोही अस्पताल हाताभित्र अश्रुग्यास र रबरका गोली चलायो ।बानेश्वरनजिक रहेका सिभिल र एभरेस्ट अस्पतालमै घाइतेको ठुलो चाप भयो । गम्भीर घाइतेलाई ट्रमा सेन्टर ल्याइएको थियो । केहीलाई केएमसी र त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । तर, बानेश्वर क्षेत्र रणमैदानमा परिणत भएकाले एम्बुलेन्सबाट घाइते ओसार्न ढिलाइ भएको थियो । 

एकैपटक धेरै घाइतेको चापका कारण उपचारमा चुनौती थपिएको सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए । ‘एकैपटक धेरै बिरामी अस्पतालमा आउँदा उपचारमा चुनौती भयो, बेड र रगतको अभाव हुन थाल्यो, त्यसपछि केहीलाई अन्यत्र रिफर पनि गर्‍यौँ,’ उनले भने, ‘अझ अस्पतालमै अश्रुग्यास प्रहार हुँदा थप समस्या निम्तियो । उपचार नै अस्तव्यस्त बन्यो ।’ट्रमा सेन्टरको अवस्था उस्तै कारुणिक बन्यो । घाइते र मृतकको संख्या बढ्दै गएपछि अस्पतालबाहिर आफन्तको रुवाबासी चलेको थियो । ट्रमाका निर्देशक डा. बद्री रिजाल वीरबाट जनशक्ति मगाएर भए पनि घाइतेको उपचार व्यवस्थित पार्ने प्रयास गरेको बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ट्रमा सेन्टरमा आठजनाको मृत्यु पुष्टि भएको छ भने ५५ जना उपचारमा छन् । त्यस्तै, सिभिल र एभरेस्ट अस्पतालमा तीन–तीनजनाको मृत्यु भएको छ । सिभिलमा १७० र एभरेस्टमा १०२ जना उपचाररत छन् । केएमसीमा दुईजनाको मृत्यु भएको छ भने ३५ उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा एकको मृत्यु भएको छ, १५ भन्दा बढीको उपचार भइरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र बी एन्ड बीमा चार घाइते उपचारमा छन् । उपत्यकाबाहिर इटहरीमा गोली लागेका दुईजनालाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको छ । 

घाइतेमध्ये ४२ जना आइसियूमा छन् । ट्रमा सेन्टर र एभरेस्टमा १२–१२, त्रिवि शिक्षणमा चार, केएमसीमा तीन, पाटनमा दुई तथा बी एन्ड बी र सिभिलमा एकक–एक आइसियूमा छन् । उपत्यकाबाहिर पनि ६ घाइते आइसियूमा छन् । केही घाइतेको सोमबारै अप्रेसन गरेर शरीरबाट गोली निकालिएको छ भने केहीको मंगलबार अप्रेसनको तयारी छ । त्यस्तै, प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार प्रहरीतर्फ पनि ३८ जना घाइते भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।