शनिवार, २ साउन २०८३
चितवन, १ साउनः एम्बुलेन्स चालकहरूले पेसालाई मर्यादित बनाउन आफूहरू तयार रहेको बताएका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल जिल्ला शाखा चितवनको आज कार्यालय उद्घाटन एवं छलफल कार्यक्रममा चालकहरूले एम्बुलेन्स चलाउँदा लागुऔषध, मादक पदार्थ सेवन र गाँजा सेवन गर्ने भेटिए हदैसम्मको कारबाही स्वीकार्य हुने बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको उपस्थितिमा केन्द्रीय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालक जोकोहीले लागुपदार्थ सेवन ९लापसे०, मादकपदार्थ सेवन ९मापसे० र गाँजापदार्थ सेवन ९गापसे० गरेको पाइएमा कानुनी रूपमा गरिने कारबाही स्वीकार्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रचलित नियम, कानुन नमान्ने एम्बुलेन्स चालकलाई गरिने कारबाही हामीलाई स्वीकार्य छ । यसमा हामी सहयोग पनि गर्छौँ ।”
देशभरमा छ हजार बढी एम्बुलेन्स रहेका जनाउँदै लामिछानेले एम्बुलेन्स र चालकको यथार्थ समस्या राज्यबाट समाधान गरिनुपर्नेमा जोड दिनुभयो । ग्रामीण क्षेत्रसम्म पहुँच भएकाले सबै चालकले इमान्दारिताका साथ पेसालाई सेवाका रूपमा लिएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सेवाको भावनाले काम गर्न आग्रह गर्दै गैरकानुनी काम गर्ने चालकलाई प्रशासनले कडाइका साथ कारबाही गर्ने बताउनुभयो । बिरामीलाई प्रभावमा राखेर स्वास्थ्य संस्थासँग आर्थिक प्रलोभनमा परेर काम गर्ने गरेको गुनासो आइरहेको भन्दै उहाँले आगामी दिनमा यस्ता गतिविधि नगर्न सबैलाई आग्रक गर्नुभयो ।
सङ्घका कार्यवहाक जिल्ला अध्यक्ष कल्याण लामाको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, सङ्घका केन्द्रीय महासचिव मुक्ति काफ्लेलगायतले आ(आफ्नो धारणा राख्नुभएको थियो । आजै सङ्घको केन्द्रीय समितिको बैठक जिल्ला शाखाको नयाँ कार्यालयमा बसेको थियो ।