बिहिबार, १७ बैशाख २०८३
आयल निगमले मूल्यवृद्धिअघि ठुलो परिमाणमा इन्धन बेच्न बिचौलिया प्रयोग गरेको भेटिएको छ । निगमका कार्यकारी निर्देशककै नेतृत्व र निर्देशनमा कर्मचारी र व्यवसायीको मिलेमतोमा मूल्यवृद्धिअघि ठुलो परिमाणमा इन्धन बेचेर संस्थालाई आर्थिक क्षति पुर्याएको छ । निगमको थानकोट डिपोमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट दैनिक रूपमा पेट्रोल–डिजेलको माग परिमाण स्वीकृत गराउन र डिपोदेखि पम्पसम्म इन्धन ढुवानी गर्ने ट्यांकरको रुट व्यवस्थापन गर्न हेम बराल, सरोज सापकोटा र श्याम श्रेष्ठ मुख्य रूपमा खटिएका छन् । उनीहरूले मूल्यवृद्धि हुनेभन्दा एक–दुई दिनअघिदेखि कुन पम्पलाई कति अतिरिक्त तेल दिने र ती पम्पबाट कर्मचारीलाई कति लाभ दिलाउने भन्नेसम्मको सेटिङ गर्दै आएको स्रोतले बतायो ।
डिपोमा बिचौलिया प्रयोग भएकोबारे निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट जानकार भए पनि मौन छन् । मूल्यवृद्धिअघि सेटिङमा अतिरिक्त तेल बिक्री भइरहेको तथ्यांक उनले केन्द्रीय कार्यालयको अनलाइन प्रणालीबाट हेर्ने गरेका छन् । तर, नियन्त्रणमा चासो दिएका छैनन् । कार्यकारी निर्देशक भट्टकै नेतृत्व र निर्देशनमा बिचौलियाको सेटिङमा मूल्यवृद्धिअघि अतिरिक्त परिमाणमा इन्धन बिक्री गरेर संस्थानलाई नोक्सानी पुर्याउने काम भइरहेको स्रोतको भनाइ छ ।
बागमती प्रदेशमा इन्धन वितरण गर्न थानकोट डिपोमा निर्वाध काम गर्दै आएका बराललाई यसअघि पनि पेट्रोलियम पदार्थको संदिग्ध कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीसहित सापकोटा र श्रेष्ठले थानकोट डिपोबाट वितरण हुने पेट्रोल–डिजेल कुन पम्पमा कति परिमाण पठाउने भनेर माग परिमाण स्वीकृति गराउने कार्यमा सहज पहुँच बनाएका छन् ।
स्रोतका अनुसार बरालले काठमाडौंका पेट्रोल पम्पमा बिक्री गर्ने इन्धनको परिमाण र ट्यांकर परिचालनको नेतृत्व गर्दै आएका छन् । सापकोटाले भक्तपुर, बनेपा, दोलखा र सिन्धुपाल्चोकमा तथा श्रेष्ठले बल्खुदेखि दक्षिणकालीसम्मका पम्पको माग परिमाण स्वीकृत गराउने गरेका छन् । डिपो प्रमुख यादवले पनि डिलर्स एसोसिएसनको समन्वयमा बराल, सापकोटा र श्रेष्ठलाई आफ्नो पहुँचमा आउन दिएको बताए । ‘पम्पमा इन्धन ढुवानीका लागि ट्यांकर परिचालन गर्न डिलर्स एसोसिएसनको समन्वयमा केही व्यक्तिलाई काममा लगाइएको छ,’ उनले भने, ‘निगम कर्मचारीलाई सहयोग हुन्छ भनेर उनीहरूलाई काम गर्न दिइएको हो । अन्य अनधिकृत काम भएको छैन ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।