मङ्गलबार, २९ बैशाख २०८३
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्” भन्ने भाष्यलाई सही नभएको बताउनुभएको छ ।प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “पुराना नेता” र “पुराना पार्टी”का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।
संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।”प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गर्नुभयो। “दुईतिहाइको कुसासनको प्रतिरोध” उहाँले भन्नुभयो, “प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो ।
तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो ।”प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाउनुभयो। उहाँले स्पष्ट पार्नुभयो “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ। सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।”