शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पहिलोपटक सडकमा उत्रिँदै ‘जेन–जी’

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिँदै

सत्ता र शासकले युवाको नवप्रवर्तक सोचलाई जहिल्यै खेलाँची ठान्छ, आफूमाथि प्रश्न उठाउँदा दमनमा उत्रिन्छ । राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमाजस्ता युवाको हत्या ग¥यो, तर ती होनहार युवाको ‘प्रजातान्त्रिक सोच’ थप संस्थागत भयो । त्यही जगमा अहिलेको गणतान्त्रिक नेपाल छ । तर, नागरिकका आवाज थुन्ने, भ्रष्टाचार र बेथितिमा रमाउने शैली सत्ताको नेतृत्वमा देखिएपछि त्यसवेलाका गंगालालकै उमेरका युवा पुस्ता आज खबरदारीका लागि सडकमा ओर्लिँदै छ । र, यो पुस्ता हो, सन् १९९७ देखि २०१२ सम्म जन्मिएको ‘जेन–जी’ ।

१३–२८ वर्ष उमेरभित्रको जेन–जी प्रविधिको उच्चतम प्रयोग गर्दै त्यहीँबाट ‘करिअर’ तय गर्दै छ । विश्वव्यापी यो ट्रेन्डबाट नेपालका जेन–जी अलग छैनन् । उनीहरूले राज्यप्रतिका असन्तुष्टि पनि विभिन्न सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दै आएका थिए । राज्य सञ्चालकमाथि खबरदारी गर्दै आएका थिए । जब केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालका प्लाटफर्म नै बन्द गरिदियो, तब यो पुस्ता सञ्जालबाट सडकमा ओर्लिने निर्णयमा पुगेको छ । सोमबार उनीहरूको ‘भ्रष्टाचारविरुद्ध कार्यक्रम’ छ, माइतीघरमा । 

दुई युवा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सिडिओ छवि रिजालसँग ‘सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूको आयोजनामा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्न लागेकाले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनू’ भन्दै अनुमति मागेका थिए । कार्यक्रमको संयोजक रहेका ती दुई युवा हुन्, सबल गौतम र पुरुषोत्तम यादव ।

जेन–जीबिच सुरुमा एकले अर्कोलाई आह्वान गर्दै सामाजिक सञ्जाल तथा विभिन्न प्लाटफर्ममार्फत सुरु भएको यो अभियानमा अहिले हजारौँ युवाले ऐक्यबद्धता जनाएका छन् । नेक्स जेन नेपाललगायत विभिन्न ग्रुपबाट यो अभियानका लागि युवाहरू गोलबद्ध भइरहेका छन् । कैयौँ अभिभावकले नै आफ्ना छोराछोरीलाई उक्त अभियानमा सहभागी हुन सार्वजनिक रूपमै सन्देश जारी गरेका छन् । 

‘दुई युवा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रमको पत्र लिएर अनुमति लिन आइतबार दिउँसो कार्यालयमा आउनुभएको थियो । प्रशासनले कार्यक्रम गर्न अनुमति दिएको छ,’ सिडिओ रिजालले भने, ‘शान्तिसुरक्षाका सवालमा योजना तय गर्न सुरक्षा संयन्त्रलाई निर्देशन पनि भइसकेको छ ।’

जेन–जीले प्रदर्शनलाई रचनात्मक बनाउन खोजेका छन् । सुरुमै प्रहरीलाई फूल दिने कार्यक्रम छ । सम्भव भएसम्म काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेकामा, नभए जहाँ सम्भव हुन्छ त्यही सहरमा भेला भएर अभियान सफल पार्न अपिल गरेका छन् । फेसबुकमा नेक्स जेन नेपाल नामको ग्रुप नै बनाएर ‘जेन–जी मुभमेन्ट’मा सहभागी हुन आह्वान गरिएको छ ।

‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथितिविरुद्ध राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुँदै छ, यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथितिविरुद्धको आवाज बुलन्द गरिनेछ,’ उक्त फेसबुक ग्रुपमा राखिएको विज्ञप्तिमा उल्लेख छ, ‘भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान हो, एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन्, यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आमनागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपिल गर्दछौँ ।’ 

जेन–जी युवा सत्तामा हुनेहरूको रवैयाबाट हैरान छन् । राज्यको तालाचाबी बोकेकाहरूले भ्रष्टाचार गरेका र सुशासनको धज्जी उडाएका त थिए नै, हुँदाहुँदै नागरिकको मुखसमेत थुन्न थालेपछि उनीहरू आक्रोशित बनेका हुन् ।‘अहिले सामाजिक सञ्जाल बन्द छ, यसमा हाम्रो बढी आपत्ति हो । भ्रष्टाचार र माथिल्लो पदमा राजनीतिक नियुक्ति हुनुहुँदैन भन्ने मुद्दा पनि हामीले उठाएका छौँ,’ जेन–जीको एउटा समूहको अगुवाइ गरिरहेकी रक्षा बम भन्छिन्, ‘समूह–समूह मिलेर युवाहरू एकै ठाउँमा जुट्न लागेका छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।