मङ्गलबार, ५ साउन २०८३

images

मङ्गलबार, ५ साउन २०८३

मङ्गलबार, ५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पाँच अर्ब बिगो दाबी : ‘बिचौलिया’ भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने अन्तिम तयारी

सरकार चलाउनेलाई नै ‘चलाउने’ शक्तिशाली हैसियत बनाएका ‘बिचौलिया’ दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँच अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा चलाउने अन्तिम तयारी भएको छ । भट्टविरुद्ध अभियोगपत्र तयार गरिसकेको सम्पत्ति शुद्धीकरण विभागले भाग्न सक्ने आशंकामा पत्राचार गरेपछि अध्यागमन विभागले राहदानीसमेत रोक्का गरेको छ । भट्टले अवैध सम्पत्ति शुद्धीकरणका लागि आफन्तका नाममा विभिन्न कम्पनी दर्ता गरेर तह–तह बनाई आफ्नो खातामा पैसा ल्याएको अनुसन्धानबाट खुलिसकेको छ । करोडौँको शंकास्पद बैंकिङ कारोबार भेटिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीको दबाबमा विभाग पन्छिएको थियो । त्यतिखेर प्रधानमन्त्री कार्यालयकै मातहत रहेको विभागले राष्ट्र बैंकबाटै कारबाही गर्नुपर्ने पत्र लेखेर भट्टलाई उन्मुक्ति दिएको थियो । तर, जेन–जी आन्दोलनपछि जेन–जी अगुवाले भट्टको सम्पत्ति छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।

भट्टविरुद्ध बिमा ऐन, धितोपत्र ऐन, राजस्व चुहावट ऐन र बैंकिङ कसुरअन्तर्गत कारबाहीको माग गरेर सम्भवतः यसै हप्ता सम्पत्ति शुद्धीकरण विभागले सरकारी वकिल कार्यालयमार्फत विशेष अदालतमा मुद्दा दायर गर्ने अर्थ मन्त्रालय स्रोतले बतायो । भट्टसहित २० भन्दा धेरैलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको विषयमा विभागले मन्त्रालयलाई रिपोर्टिङ गरेको छ । हिमालयन रि–इन्स्योरेन्सको रकम गैरकानुनी ढंगले दुरुपयोग गरेको अभियोगमा भट्टमाथि एक वर्षयता अनुसन्धान गर्दै आएको विभागले एक महिनाअघि बयान पनि लिएको थियो । ‘दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो अनुसन्धान गरिसकेको छ । यसक्रममा उनीसँग बयानसमेत लिएको छ । सम्भवतः यसै साता मुद्दा दायर हुनेछ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘उनी भाग्न सक्ने देखिएपछि अध्यागमन विभागले राहदानी पनि रोक्का गरेको छ ।’

भट्टविरुद्ध विभागले बिमा ऐन, ०७९ अन्तर्गत अनुसन्धान गर्दै आएको छ । भट्टसहितको समूहले हिमालयन रिको रकम गैरकानुनी ढंगले १८ कम्पनीमा ल्याएका थिए । उक्त सबै कम्पनीमा भट्ट जोडिएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रभावित गर्न भट्ट सबै उपाय प्रयोगमा जुटेका थिए । तर, सफल नभएपछि उनी भाग्ने योजनामा थिए । सूचना थाहा पाएपछि विभागले उनको राहदानी रोक्का गर्न अध्यागमनमा पत्रचार गरेको थियो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले भट्टविरुद्ध अनुसन्धान भइरहेको बताए । ‘भट्टविरुद्ध विगतदेखि नै अनुसन्धान हुँदै आएको छ, अहिले पनि जारी छ,’ उनले भने, ‘अझै निष्कर्षमा पुगिसकिएको छैन ।’ घटनामा भट्टसहित हिमालयन रिका बोर्ड सदस्यहरू पनि संलग्न रहेको विभागको दाबी छ । अन्य कतिपय सदस्यसँग पनि विभागले बयान लिइसकेको छ । हिमालयन रिमा अहिले बोर्ड सदस्यका रूपमा साहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता, राजीव मोर, सुवेच्छा खरेल, सुवास झुनझुनवाला छन् । तर, बोर्ड अध्यक्ष भने अहिले खाली राखिएको छ । यसअघि उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा अध्यक्ष थिए । उनले गत ८ चैतमा मात्रै बोर्ड अध्यक्षबाट राजीनामा दिएका थिए । 

‘हिमालयन रिको रकम गैरकानुनी ढंगले दुरुपयोग भएको देखियो । घटनामा भट्टसहित रिका बोर्ड सदस्य पनि संलग्न छन् । उनीहरूमाथि पनि अनुसन्धान भइरहेको छ,’ विभाग स्रोतले भन्यो । निवर्तमान सुशीला कार्की नेतृत्वको सरकारकै पालामा भट्टसहितका आरोपीविरुद्ध पाँच अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गर्न खोजिएको थियो । तर, चलखेलका कारण प्रक्रिया अघि नबढेको विभाग स्रोतले बतायो । भट्टको पहुँच पुराना सबै ठुला दलका शीर्ष नेतासम्म थियो । उनको हैसियत सरकार गिराउने र बनाउनेसम्मको थियो । भट्टकै सक्रियतामा एमाले र कांग्रेस गठबन्धनपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेको आरोप लाग्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।