शनिवार, २ साउन २०८३
कांग्रेस सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट विश्राम लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आगामी १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने लिखित घोषणा गरेका ७९ वर्षीय देउवाले राष्ट्रपति, प्रधानमन्त्री र सांसदजस्ता संवैधानिक पद लिने–नलिनेबारे भने स्पष्ट गरेका छैनन् । कांग्रेसको आन्तरिक राजनीति र जेन–जी आन्दोलनपछि विकसित मुद्दामा देउवाको अवकाश घोषणा अर्थपूर्ण छ ।
जेन–जी आन्दोलनमा भौतिक आक्रमणमा परेर उपचार र आरामपछि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित देउवाले आफ्नो लिखित सम्बोधनमा जेन–जी आन्दोलन, राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनबारे महत्वपूर्ण सन्देश दिएका छन् । कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको मुद्दा जोडतोडले उठिरहेका वेला देउवाले बाध्यात्मक नभई वैधानिक प्रक्रियाबाट आफू बाहिरिने प्रतिबद्धता जनाएका हुन् । यद्यपि, महाधिवेशनको मितिलाई लिएर कांग्रेसमा विवाद छ । सभापति देउवाले आगामी १५औँ महाधिवेशनमा आफूबाहेक अन्य नेता सभापति बन्ने लिखित घोषणा गरेर पार्टीपंक्तिमा नेतृत्व हस्तान्तरणको स्पष्ट सन्देश प्रवाह गरेका छन् । देउवाले वैधानिक व्यवस्थाले र आफ्नो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्ने भनिसकेको स्मरण पनि गराएका छन् ।
‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने, ‘घरमा सधैँ एकैजना मूली रहँदैन,’ पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन,’ लिखित सम्बोधनमा देउवाले भनेका छन्, ‘जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’देउवाले पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने विश्वाससहित खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका छन् । ‘मेरो स्वास्थ्यका कारणले मैले पार्टीका उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ,’ देउवाले भनेका छन् ।
सभापति देउवाले देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निष्पक्ष निर्वाचन नै भएको बताएका छन् । असंवैधानिक संसद् विघटन र शान्ति–सुरक्षाको अभावले लोकतन्त्र जोखिममा परेको बताउँदै उनले दलहरूबिच संवाद, कांग्रेसभित्र एकता र देशप्रतिको साझा उत्तरदायित्वलाई अहिलेको पहिलो आवश्यकता औँल्याएका छन् । सरकारले चुनावको मिति तोके पनि आवश्यक वातावरण बन्न नसकेको देउवाको भनाइ छ ।
‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्वसर्तका रूपमा रहेको शान्ति–सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्,’ सभापति देउवाले भनेका छन्, ‘तसर्थ निर्वाचनका लागि शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतस्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो । यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’
देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकताबद्ध र सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नुपर्ने देउवाको जोड छ । ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थाका वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ,’ देउवाको सम्बोधनमा छ, ‘मुलुकमा संकट आएका वेला त्यसको निकास पनि कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौँ ।’
सभापति देउवाले ८० वर्षे इतिहासमा कांग्रेसले राष्ट्रियता र लोकतन्त्रका निम्ति कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको भन्दै देउवाले विद्यमान अवस्थामा कांग्रेसले उचित मार्गदर्शन दिनुपर्ने औँल्याएका छन् । ‘हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट हामीले कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वसनीयतालाई पुनर्पुष्टि गर्नुपर्दछ,’ उनले भनेका छन्, ‘विद्यमान अवस्थामा मुख्य रूपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नुपर्नेछ ।’
देउवाले कांग्रेसको आन्तरिक एकतामा पनि जोड दिएका छन् । ‘देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रा बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकताबद्ध हुनुपर्दछ,’ उनले भनेका छन्, ‘अहिले हाम्रा बिचमा व्यक्तिगत वा समूहगत रुचि–अरुचि, हित–अहित वा लाभहानिका सबै विषय गौण हुन् । विषयवस्तुमा व्यापक छलफल गरौँ, एकमतका साथ निर्णयमा पुगौँ र ठोस ढंगले निर्णयको कार्यान्वयन गरौँ ।’
सभापति देउवाले जेन–जी आन्दोलनका जायज माग सम्बोधन गर्दै सुशासन र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । ‘जेन–जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ । उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ,’ उनले भनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वत:स्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेको बताएका छन् । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्नेमा देउवाको माग छ । ‘यो अनुसन्धान कसैलाई तात्कालिक नाफा–घाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ उनले भनेका छन् । कठिन अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको देउवाको विश्लेषण छ ।
सभापति देउवाले देशमा सबै महत्वपूर्ण अंगहरूको मनोबल गिरेको भन्दै मनोबल बढाउने काम गर्न माग गरेका छन् । ‘हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोबलका साथ काम गर्न आह्वान पनि गर्नुपर्दछ,’ देउवाले भनेका छन् । सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।